हुगली-चुञ्चुड़ा नगरपालिकामा ठूलो घोटालाः म्यूटेशन शुल्कमा लाखौंको धाँधली
हुगली-चुञ्चुड़ा नगरपालिकामा ठूलो घोटालाः म्यूटेशन शुल्कमा लाखौंको धाँधली


हुगली, 14 सेप्टेम्बर (हि.स.)। हुगली-चुञ्चुड़ा नगरपालिकाबाट व्यापक रूपमा वित्तीय घोटाला भएको खबर बाहिरिएको छ। आरोप छ, म्यूटेशन गराउनको लागि लिइएको धनराशि नगरपालिकाको ढुकुटीमा जमा भएकै छैन। यस मामिलामा नगरपालिकाका एकजना कर्मचारीमाथि आरोप लागेको छ। मामिला प्रकाशमा आएपछि अधिकारीले जाँचबुझ गर्दा कर्मचारीले स्वीकार गरे कि उसले यस्तो म्यूटेशन लगभग 15 गराइदिएका छन्। भनिन्छ, प्रत्येक म्यूटेशनमा न्यूनतम 25-30 हजार रुपियाँ जमा हुन्छ। यस हिसाबले लाखौं रुपियाँ हिनामिना गरेको आरोप लागिरहेको छ।

नगरपालिका चेयरम्यान अमित रायले भने, “अहिलेसम्मको जाँचमा यो केवल एकजना व्यक्तिले गरेको पत्तो लागेको छ। सम्बन्धित व्यक्तिलाई कारण बताऊ नोटिस जारी गरिएको छ। साथै हामीले थानामा एफआईआर दर्ता गरी सम्पूर्ण मामिलाको जाँच गर्ने माग गरेका छौं। यस घोटालामा सामेल कुनै पनि व्यक्ति विरूद्ध कड़ा कानूनी कारबाही हुनेछ।”

तृणमूल समर्थित कर्मचारीहरूको यूनियनका उपाध्यक्ष असीम अधिकारीले भने, “हरेक महिना हाम्रो वेतनमा अनियमितता हुन्छ। अर्कोतिर भने नगरपालिकाको राजस्वबाट आउने रकममा म्यूटेशन र ट्याक्सको नाममा यसरी धाँधली भइरहेको छ। कर विभागमा एक जना इञ्चार्ज हुन्छ, उनलाई थाहा भएन कि यतिका महिनासम्म यो खेल चलिरहेको छ?”

सीआईटीयू समर्थित यूनियनका सदस्य सौरभ गांगोपाध्यायले भने, “हामीले पनि यस घटनाको जानकारी पाएका छौं। जाँच भइरहेको छ। हामीले नगरपालिकासित भनेका छौं, तपाईहरूले उचित कदम उठाउनुहोस्, सबै यूनियनले यसमा तपाईहरूलाई साथ दिनेछ। कुनै पनि फाइल पास भएको छैन, तर पनि म्यूटेशन भयो। यो गम्भीर मामिला हो।”

अर्कोतिर भाजपाको हुगली सांगठनिक जिल्ला महासचिव सुरेश सावले आरोप लगाए, “नगरपालिकामा व्यापक रूपमा भ्रष्टाचार भएको छ। धेरैजना ट्याक्स नतिर्ने मानिसहरू छन्, तर पनि उनीहरूको म्यूटेशन भएको छ। भाजपा जिल्ला कार्यालयको ट्याक्स भुक्तान गरिएको भए पनि अहिलेसम्म म्यूटेशन भएको छैन। यो तृणमूल संचालित भ्रष्ट नगरपालिकाको जिउँदो उदाहरण हो।”

कर विभागका प्रभारी अधिकारी नितीश घोषलाई क्यामरा सामु आउनदेखि बचेको देखियो। उनले यति मात्र भने, “यस सम्बन्धमा जे पनि भन्नुछ, नगरपालिकाका अधिकारीले भन्नेछन्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande