(अपडेट) अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु
पञ्चायत अध्यक्ष राजेन गुरुङ


पश्चिम सिक्किममा पैह्रोले ज्यान गुमाउनेहरूको संख्या पुग्यो पॉंच

गेजिङ, 14 सेप्टेम्बर (हि.स.)। गेजिङ जिल्लाको 19 सर्दोङ लुङ्गजिक जीपीयूमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु भएको छ। यसका साथै पश्चिम सिक्किममा पैह्रोको चपेटमा परेर ज्यान गुमाउने व्यक्तिहरूको संख्या पॉंच पुगेको छ।

लगातार रूपमा परिरहेको भारी वर्षाका कारण पैह्रो झर्दा गेजिङ जिल्लाको अप्पर सर्दोङ, लामा गाउॅं वार्डमा 47 वर्षीय राजेन गुरुङको निधन भयो। उनी 19 सर्दोङ लुङ्गजिक जीपीयूका पञ्चायत सभापति थिए। शनिवार राति लगभग आठ बजी उनी घर छेउ पैह्रोको चपेटमा परेका थिए।

भारी वर्षाबीच गेजिङ जिल्ला प्रशासन, जिल्ला आपदा प्रबन्धन प्राधिकरण, स्वास्थ्य विभाग, वन विभाग, त्वरित प्रतिक्रिया टोली र स्थानीय मानिसहरूको समन्वयमा तत्काल राहत एवं उद्धार कार्य शुरू गरिएको थियो। तर, राजेन गुरुङलाई बचाउन सकिएन। अबेर राति लगभग 10:30 बजी उनको शव उद्धार गरियो।

क्षेत्र विधायक सुबेश कुमार सुब्बाले आज शोक सन्तप्त परिवारसॅंग भेट गरेर समवेदना व्यक्त गर्दै सहयोग प्रदान गरे। उनले दुर्घटना स्थलको जायजा पनि लिए। विधायकसॅंग एएसपी सोनाम वाङ्गदी भोटिया, डीडीएमए डीपीओ गणेश कुमार राई आदि पनि उपस्थित थिए।

उल्लेखनीय छ, सिक्किममा लगातार रूपमा भइरहेको भारी वर्षाले जनधनलाई निकै क्षति पुऱ्याएको छ। विशेष रूपमा पश्चिम सिक्किममा पैह्रोको चपेटमा परेर अहिलेसम्म पॉंच जनाले आफ्नो ज्यान गुमाइसकेका छन्। गत 11 सेप्टेम्बर राति अप्पर रिम्बिकमा पैह्रोले 3 जनाको मृत्यु भएको थियो। यस अघि 10 सेप्टेम्बर बिहान थाङसिङमा पैह्रोले एउटी महिलाको मृत्यु भएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande