मुख्यमन्त्रीद्वारा पञ्चायत अध्यक्ष राजेन गुरुङको निधनमा गहिरो दु:ख प्रकट
मुख्यमन्त्रीद्वारा पञ्चायत अध्यक्ष राजेन गुरुङको निधनमा गहिरो दु:ख प्रकट


गान्तोक, 14 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले गेजिङ जिल्लाको 19- सार्दोङ लुङ्गजिक जीपीयूका पञ्चायत अध्यक्ष राजेन गुरुङको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। पञ्चायत अध्यक्ष गुरुङको शनिवार अबेर राति पैह्रोको चपेटमा परेर निधन भयो।

मुख्यमन्त्रीले आइतवार बिहान सामाजिक सञ्जाल फेसबुक पोस्टमा पञ्चायत अध्यक्ष राजेन गरुङको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। उनले यस गहिरो दु:खको घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको लागि प्रार्थना गरेका छन्।

मुख्यमन्त्रीले स्वर्गीय गुरुङको आफ्नो समुदायप्रति नि:स्वार्थ सेवा र जनताप्रति उनको अथक योगदानलाई गहिरो सम्मान र कृतज्ञताका साथ स्मरण गरिनेछ भनी उल्लेख गरेका छन्। उनले सरकार र सिक्किमका जनताको पक्षमा यस अपूरणीय क्षतिको समयमा शोकित परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले जिल्ला प्रशासन र सम्बन्धित अधिकारीहरूले घटनापछि तुरुन्तै प्रतिक्रिया जनाएको तथा परिवारका सदस्यहरूलाई र प्रभावित क्षेत्रमा आवश्यक सबै सहयोग प्रदान गरिरहेको जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande