गान्तोक, 02 सेप्टेम्बर (हि.स.)। सिक्किम सरकारको श्रम विभाग सचिव भीम ठटालले सोमवार राज्यको सीमा क्षेत्रहरूमा रहेका श्रम विभागका चेकपोस्टहरू भ्रमण गरे। उनले नाम्ची जिल्लाको मल्ली, सोरेङ जिल्लाको रम्माम र पाकिम जिल्लाको रेशी चेकपोस्टहरूको भ्रमण गरेका छन्।
भ्रमणको क्रममा सचिव ठटालले चेकपोस्टहरूमा तैनात पुलिसकर्मीहरू लगायत यातायात विभाग, एसएनटी प्रभाग, वाणिज्यिक कर, श्रम अधिकारीहरू र निरीक्षकहरूसॅंग अन्तरक्रिया गरे। उनले सोरेङ जिल्लाको रम्माम खुला सिमाना भएकाले, विशेष गरी वर्षाको समय र जाडोको समयमा अन्य राज्यका मानिसहरू काम र रोजगारीको खोजीमा सिक्किममा घुसपैठ गर्न सक्ने थाहा पाए।
यसपछि, सचिव ठटालले सोरेङको जिल्ला प्रशासन र पुलिस प्राधिकरणसॅंग चर्चा गरेर रम्माममा श्रम विभागको नियमित चेकपोस्ट स्थापना गर्न पहल गरेका छन्। यस अतिरिक्त, उनले मल्ली, रम्माम, रम्फू र रेशी चेकपोस्टमा तैनात अधिकारीहरूसॅंग छलफल गर्दै कामदार/श्रमिकहरूलाई लेबर कार्ड जारी गर्न अघि ठेगाना प्रमाणको उचित प्रमाणीकरण, नाम, भोटर कार्ड, आधार कार्ड, अन्य दस्तावेजहरूको सम्बन्धमा कडा कदम चाल्न निर्देश दिए।
यसैगरी, सचिवले चेकपोस्टहरूमा दैनिक रूपमा हुने कामदार/श्रमिकहरूको पञ्जीकरणको जानकारी जिल्ला कार्यालय र राज्य मुख्यलयमा पठाउन पनि निर्देश दिएका छन्। उनले पञ्जीकरण प्रक्रियालाई सहज बनाउन चेकपोस्टहरूमा कम्प्यूटर र तत्काल फोटो सुविधाहरू चॉंडै जडान गर्ने विषयमा पनि चर्चा गरे। उनले सिक्किममा कामको खोजीमा प्रवेश गर्ने सबै श्रमिक/कामदारहरूको रेकर्ड उचित रूपमा राख्न पनि निर्देश दिएका छन्।
यस भ्रमण अवधि सचिवको साथमा श्रम आयुक्त केआर लिम्बू, मुख्यालयहरूबाट सहायक श्रम आयुक्तहरू र सम्बन्धित चेकपोस्टका अधिकारीहरू पनि उपस्थित रहेको जानकारी श्रम विभागले प्रेस विज्ञप्तिमा दिएको छ।
हिन्दुस्थान समाचार / बिशाल