गान्तोक, 23 सेप्टेम्बर (हि.स.)। पश्चिम सिक्किमको योक्सम आधारित एसएसबीको 72औं बटालियनका जवानहरूले 70 वर्षीया वृद्धा ह्रदयरोगी दिलमाया लिम्बूलाई आवश्यक चिकित्सा उपचार उपलब्ध गराएपछि उनको दुर्गम गाउॅं तासेन्थाङसम्म सुरक्षित पुऱ्याउने सराहनीय गरेका छन्। नम्बु-सिन्द्राबुङ जीपीयुका सभापति आरबी लिम्बूको अनुरोधमा एसएसबीका जवानहरूले वृद्धाको उद्धार गरेका थिए।
एसएसबीको 72औं बटालियनका कमान्डेन्ट विश्वास केएम, एसीको देखरेखमा उक्त मानवीय कार्य गरिएको थियो। उद्धार दलले चुनौतीपूर्ण भौगोलिक अवस्थाका बावजुद बिरामीलाई सुरक्षित घरसम्म पुऱ्याएको एसएसबीले प्रेस विज्ञप्तिमा जनाएको छ। एसएसबीको आदर्श वाक्य 'सेवा, सुरक्षा र भ्रातृत्व' को वास्तविक भावनामा गरिएको यस पहललाई स्थानीय जनता र नागरिक प्रशासन दुवैले सराहना गरेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल