सोरेङ, 24 सेप्टेम्बर (हि.स.)। केन्द्रिय कृषि एवं कृषक कल्याण राज्यमन्त्री भगीरथ चौधरीले आज सोरेङको रुअर्वन कम्प्लेक्समा सोरेङ जिल्ला प्रशासनका अधिकारीहरू, विभागीय प्रमुखहरू, एसएचजीका सदस्यहरू र एफपीओसॅंग अन्तरक्रिया बैठक गरे। उनी एकदिवसीय भ्रमणमा हिजो सिक्किम आइपुगेका हुन्।
केन्द्रिय राज्यमन्त्री चौधरीले आफ्नो सम्बोधनमा सिक्किमलाई जैविक खेती राज्यको रूपमा विश्वव्यापी मान्यता प्राप्त भएकोमा सराहना गरे र दिगो कृषिको लागि राज्यको योगदानलाई आदर्श बताए। उनले कृषि राष्ट्रको विकासको प्रमुख स्तम्भ रहेको बताउॅंदै किसान कल्याणका लागि धेरै महत्त्वपूर्ण सरकारी पहलहरू र केन्द्रित क्षेत्रहरूमाथि प्रकाश पारे।
उनले राष्ट्रिय बॉंस अभियान, प्रधानमन्त्री कृषि सिंचाई योजना, सोएल हेल्थ कार्ड योजना र किसान क्रेडिट कार्ड जस्ता योजनाहरूको कार्यान्वयन र सुदृढिकरणको लागि आह्वान गरे। उनले राम्रो उत्पादकता र सूचित कृषि अभ्यास सुनिश्चित गर्न माटोको जॉंच र सोएल हेल्थ कार्डको आवश्यकतामाथि जोड दिए।
केन्द्रिय राज्यमन्त्रीले पाम तेल उत्पादन र निर्यात बढाउनुको महत्त्वमाथि जोड दिॅंदै किसानहरू र एफपीओहरूलाई यस क्षेत्रमा अवसरहरूको फाइदा उठाउन प्रोत्साहित गरे। प्राविधिक विकासप्रति सरकारको प्रतिबद्धतालाई उजागर गर्दै उनले पहाडी भूभागमा कृषि ड्रोनको प्रयोग गर्न सिफारिस गरे। उनले एफपीओहरूलाई कृषिमा डिजिटल उपकरणहरू र आधुनिक प्रविधिहरू अपनाउन आग्रह गरे, जसले दीर्घकालीन रूपमा किसानहरूको लागि अत्यधिक लाभदायक साबित हुने बताए।
यस अघि सोरेङ जिल्लाका जिल्लापाल धिरज सुबेदीले विभिन्न ध्वजवाहक योजनाहरू अन्तर्गत जिल्लाका विकासीय प्रगतिमाथि प्रकाश पारेका थिए। उनले आकांक्षी जिल्ला कार्यक्रम अन्तर्गत अपनाइएका पहलहरूको बारेमा जानकारी गराए।
कार्यक्रममा अन्तरक्रिया सत्र पनि सम्पन्न गरिएको थियो, जसमा जिल्ला पञ्चायत, पञ्चायत प्रतिनिधिहरू, विभागीय प्रमुखहरू र आशा कर्मीहरू, एसएचजीका सदस्यहरू आदि सहभागी बनेका थिए।
कार्यक्रमपछि केन्द्रिय राज्यमन्त्रीले अप्पर सिङलिङस्थित जौटार फार्मको भ्रमण गरे र प्रगतिशील कृषकहरूसॅंग अन्तरक्रिया गरे। उनले स्थानीय आंगनवाडी केन्द्रको पनि भ्रमण गरे भने श्रीबदाममा च्याउ र इस्कुस खेतीको निरीक्षण गरे। यस अवसरमा उनको बाहुलीद्वारा लाभार्थीहरूलाई कृषि उपकरणहरू पनि वितरण गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल