सोनादा, 24सेप्टेम्बर (हि.स.)। सोनादा क्षेत्रका विभिन्न विद्यालयहरुलाई लिएर मनबहादुर गुरुङ स्मृति तर्क सभा सम्पन्न भएको छ। सोनादा डिग्री कलेज अनि स्वर्गीय मनबहादुर गुरुङ स्मृति प्रतिष्ठानको तत्वावधानमा सोनादास्थित न्यु लाइट क्लबको प्रेक्षागृहमा मनबहादुर गुरुङ स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिता सम्पन्न भएको छ।
उक्त कार्यक्रम मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाको संयोजक प्राध्यापक मेघनाथ छेत्रीको अध्यक्षतामा साथै वरिष्ठ साहित्यकार एंव नाटककार नन्द हाङखिमको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। यस तर्क सभामा सोनादा क्षेत्रका विद्यालयहरु क्रमैले होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालय शान्तिरानी उच्चतर माध्यमिक विद्यालय, ग्रिन हिल अंग्रेजी स्कूल, सोनादा उच्चत्तर माध्यमिक विद्यालय, न्युटन्स माइन्ड अंग्रेजी स्कूल, साईसुन्दरम विद्यालय आदिले भाग लिएका थिए।
यस तर्क सभाको निर्णायकहरुमा रोशन राई, विवेक मिश्र, बिजयता सुब्बा आदि रहेका थिए। यस तर्क प्रतियोगिताको विषय 'प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ' रहेको थियो। यस तर्क प्रतियोगितामा प्रथम न्युटन्स माइन्ड अंग्रेजी स्कूल, दोस्रो होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालय भएका छन् भने बेस्ट स्पिकरमा सोनादा उच्चत्तर माध्यमिक विद्यालयले प्राप्त गरेको छ।
कार्यक्रममा प्रोजेक्टरको माध्यमबाट साहित्यकार मनबहादुर गुरुङको परिचय प्रस्तुत गरिएको थियो। कार्यक्रममा अध्यक्षीय सम्भाषण एंव धन्यवाद ज्ञापन कार्यक्रमको अध्यक्ष प्राध्यापक मेघनाथ छेत्रीले राखेका थिए।
---------------
हिन्दुस्थान समाचार / हनोक