वरिष्ठ नाट्य कलाकार जीवन गुरुङ दोस्रो मनबहादुर गुरुङ स्मृति सम्मानद्वारा सम्मानित
जीवन गुरुङ


सोनादा, 24सेप्टेम्बर (हि.स.)। दार्जिलिङका वरिष्ठ नाटककार एवं नाट्य कलाकार जीवन गुरुङलाई दोस्रो मनबहादुर गुरुङ स्मृति सम्मान प्रदान गरिएको छ। भारतीय नेपाली साहित्यका एक वरिष्ठ साहित्यकार, नाटककार, लोक संगीतकार, व्यङ्ग्यकार स्वर्गीय मनबहादुर गुरुङको स्मृतिमा गठित स्वर्गीय मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाले प्रत्येक वर्ष मनबहादुर गुरुङ स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिता सम्पन्न गर्नाका साथै कुनै एकजना भारतीय नेपाली विशिष्ट नाटककारलाई मनबहादुर गुरुङ स्मृति नाट्य सम्मान प्रदान गर्ने कार्यक्रम गर्दै आइरहेको छ।

यस वर्ष पनि सोनादा डिग्री कलेज अनि स्वर्गीय मनबहादुर गुरुङ स्मृति प्रतिष्ठानको तत्वावधानमा सोनादास्थित न्यु लाइट क्लबको प्रेक्षागृहमा मनबहादुर गुरुङ स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिता साथै दार्जीलिङका विशिष्ट नाटककार जीवन गुरुङलाई मनबहादुर गुरुङ स्मृति नाट्य सम्मानले सम्मानित गरिएको छ‌। उक्त कार्यक्रम मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाका संयोजक प्राध्यापक मेघनाथ छेत्रीको अध्यक्षतामा साथै वरिष्ठ साहित्यकार एवं नाटककार नन्द हाङखिमको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा हरिबहादुर मुखिया, देवकुमार प्रधान, बुध्द संगम, थिलेन लामा लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाको पक्षमा दार्जिलिङका वरिष्ठ नाट्य कलाकार जीवन गुरुङलाई दोस्रो मनबहादुर गुरुङ स्मृति सम्मान प्रदान गरियो। यस अवसरमा उनलाई मुख्य अतिथिको रुपमा उपस्थित वरिष्ठ साहित्यकार एंव नाटककार नन्द हाङखिम र अन्य अतिथिहरुका बाहुलीबाट खदार्पणसहित टोपी, दोसल्ला, स्मृति चिन्ह, सम्बर्ध्दना पत्र प्रदान गरेर सम्मान जनाइयो।

जीवन गुरुङ 70 को दशकदेखि नाटक लेखन, निर्देशन, मञ्चन, अभिनयमा लागि परेका छन्। यसै कार्यक्रममा मनबहादुर गुरुङ स्मृति अन्तर विद्यालय तर्क सभाको पनि आयोजना गरियो। यस तर्क सभामा सोनादा क्षेत्रका विद्यालयहरु क्रमैले होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालय शान्तिरानी उच्चतर माध्यमिक विद्यालय, ग्रिन हिल अंग्रेजी स्कूल, सोनादा उच्चत्तर माध्यमिक विद्यालय, न्युटन्स माइन्ड अंग्रेजी स्कूल, साई‌‌सुन्दरम विद्यालय आदिले भाग लिएका‌ थिए‌।

यस तर्क सभाको निर्णायकहरुमा रोशन राई, विवेक मिश्र, बिजयता सुब्बा आदि रहेका थिए।

यस तर्क प्रतियोगितामा प्रथम न्युटन्स माइन्ड अंग्रेजी स्कूल, दोस्रो होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालय भएका छन् भने बेस्ट स्पिकरमा सोनादा उच्चत्तर माध्यमिक विद्यालयले प्राप्त गरेको छ। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार नन्द हाङखिम र सम्मानित व्यक्तित्व वरिष्ठ नाट्य कलाकार जीवन गुरुङले वक्तव्य राखेका थिए। कार्यक्रममा प्रोजेक्टरको माध्यमबाट साहित्यकार मनबहादुर गुरुङको परिचय प्रस्तुत गरिएको थियो‌।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande