भाजपा अध्यक्ष थापाले केन्द्रिय मन्त्री गडकरीसॅंग सडक सम्पर्क पुनर्स्थापना र स्तरोन्नतिमाथि गरे छलफल
भाजपा अध्यक्ष थापाले केन्द्रिय मन्त्री गडकरीसॅंग सडक सम्पर्क पुनर्स्थापना र स्तरोन्नतिमाथि गरे छलफल


गान्तोक, 24 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले आज नयॉं दिल्लीमा सिक्किमको अर्थतन्त्र र पर्यटनका लागि महत्वपूर्ण पूर्वाधार चुनौतीहरूलाई सम्बोधन गर्न केन्द्रिय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीसॅंग भेट गरे। उनले केन्द्रिय मन्त्री समक्ष सडक सम्पर्क पुनर्स्थापना र स्तरोन्नतिको बारेमा छलफल गरेको प्रदेश भाजपाले प्रेस विज्ञप्तिमा जनाएको छ।

प्रदेश अध्यक्ष थापाले 2023 को हिमनदी ताल फुटेर आएको बाढी (जीएलओएफ) र बारम्बार आउने पैह्रोले सिक्किमको जीवन रेखा राष्ट्रिय राजमार्ग 10 को तत्काल पुनर्स्थापनामा जोड दिए। उनले मनसुनमा आपूर्तिहरू अवरुद्ध भएको, पर्यटक आगमन घटेको र वस्तुहरूको मूल्य बढेको जानकारी गराउॅंदै यसले होटल व्यवसाय र जीविकोपार्जनलाई खतरामा पारेको बताए।

उनले ढलान स्थिरीकरण, पुनर्संरचना, र एनएचआईडीसीएल राज्य समन्वय बढाउने जस्ता जलवायु-लचिलो उपायहरूको लागि अनुरोध गरे। उनले क्षेत्रमा भरपर्दो कनेक्टिभिटीको लागि अवस्थित एनएच 10 को विपरीत छेउमा सिङताम र सेवकबीच वैकल्पिक राजमार्ग पनि प्रस्ताव गरे।

प्रदेश अध्यक्ष थापाले 2023 को जीएलओएफ र मनसुनका कारण आएको पैह्रोले क्षतिग्रस्त बनाएको उत्तर सिक्किमको सम्पर्क पुनर्स्थापनामाथि जोड दिए। उनले पैह्रोले 14 वटा पुलहरू ध्वस्त भएको र एनएच 10 र छेउछाउका सम्पर्क पूर्वाधारहरूलाई क्षति पुर्‍याएको बताए, जसले जङ्गु, चुङथाङ, लाचेन र लाचुङसॅंग सम्पर्क अवरुद्ध बनेको थियो। उनले अस्थायी मर्मत बारम्बार असफल भएको अवगत गराउॅंदै टिकाउ पूर्वाधारको साथ द्रुत पुनर्निर्माणको लागि अनुरोध गरे। उनले गान्तोकमा गम्भीर ट्राफिक जामको समस्या सम्बोधन गर्न शहरमा रिङरोडको प्रस्ताव गरे।

केन्द्रिय मन्त्री गडकरीले जारी र प्रस्तावित परियोजनाहरूको रूपरेखा प्रस्तुत गर्दै यी समस्याहरू समाधान गर्ने आश्वासन दिएको विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande