गान्तोक, 24 सेप्टेम्बर (हि.स.)। केन्द्रिय कृषि विश्वविद्यालय, इम्फालका उपकुलपति डा. अनुपम मिश्रले आज सिक्किममा राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। उपकुलपतिको साथमा बागवानी महाविद्यालयका डीन डा. एके पान्डे र संकाय सदस्यहरू पनि थिए।
भेटको क्रममा उपकुलपति डा. मिश्रले राज्यपाललाई नाम्ची जिल्लाको बर्मेकमा प्रस्तावित बागवानी महाविद्यालयको प्रशासनिक एवं शैक्षिक भवन र वार्षिक जोनल कार्यशाला 2025 को उद्घाटनको लागि औपचारिक रूपमा निमन्त्रणा दिए। उक्त कार्यक्रम 25 सेप्टेम्बर, 2025 का दिन हुने राजभवनले जानकारी गराएको छ।
उपकुलपतिले राज्यपाललाई राज्यमा कृषि तथा बागवानी शिक्षा, अनुसन्धान र विस्तार गतिविधिहरूलाई प्रवर्द्धन गर्न भइरहेका पहल र उपलब्धिहरूको बारेमा अवगत गराए। उनले सिक्किममा सञ्चालित विश्वविद्यालयको शैक्षिक प्रगतिको बारेमा पनि अन्तरदृष्टि प्रदान गरेका थिए।
राज्यपालले विश्वविद्यालय र बागवानी महाविद्यालयलाई क्षेत्रीय कृषि चुनौतीहरूलाई सम्बोधन गर्न र कृषि समुदायलाई सशक्त बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
हिन्दुस्थान समाचार / बिशाल