मङ्गन, 24 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मङ्गनमा नवनिर्मित जिल्ला अस्पतालको उद्घाटन गरेर जिल्लावासीहरूलाई समर्पित गरे। उद्घाटन समारोहमा जनप्रतिनिधिहरू, गणमान्य व्यक्तिहरू, विभागीय प्रमुखहरू, स्थानीय जनता आदि उपस्थित थिए।
उत्तर सिक्किमको लागि मङ्गन जिल्ला अस्पताल एकमात्र प्रमुख स्वास्थ्य केन्द्र हो। अस्पतालले पाँचवटा जनस्वास्थ्य उप-केन्द्रहरू, जिल्लाको लगभग आधा जनसंख्या, ठूलो आप्रवासी कार्यबल र आन्तरिक तथा अन्तरराष्ट्रिय पर्यटकहरूलाई सेवा प्रदान गर्दछ।
अस्पतालको भुई तलामा रिसेप्सन, पञ्जीकरण, फार्मेसी, सामान्य चिकित्सा, शल्यक्रिया, आँखा, छाला विज्ञान, मनोचिकित्सा, औषधि, ईएनटी, दन्त, बाल चिकित्सा र अर्थोपेडिक ओपीडीहरू छन्। त्यस्तै गरी यसमा फिजियोथेरापी युनिट, बहुउद्देश्यीय कोठा, मेडिकल स्टोर, सीटी स्क्यान, रेडियोलोजी (डिजिटल र परम्परागत एक्स-रे, अल्ट्रासोनोग्राफी), खोप र कोल्ड चेन कोठा, एमसीएच कोठा, छुट्टै पुरुष/महिला शौचालय, डाक्टरहरूको शौचालय पनि छन्।
अस्पतालको पहिलो तल्लामा बाल रोग विभाग, परीक्षा कक्ष, नर्सहरूको स्टेशन, बाल रोग वार्ड, स्त्री रोग विभाग, सम्बद्ध सुविधाहरू सहित ओटी, एएनसी, प्रसव कक्ष, प्रसवोत्तर हेरचाह, दुई ६-शय्या भएको वार्ड, प्रयोगशाला आदि छन्। यसरी नै दोस्रो तल्लामा शल्यक्रिया विभाग, अर्थोपेडिक वार्ड, सामान्य औषधि र माथिल्लो तलामा सम्मेलन हल, क्यान्टिन, आदि सुविधाहरू छन्।
नवनिर्मित मङ्गन जिल्ला अस्पताल एक आधुनिक, भूकम्प प्रतिरोधी सुविधा रहेको बताइएको छ, जसले उत्तर सिक्किमका बासिन्दाहरू, कार्यबल र पर्यटकहरूलाई आवश्यक स्वास्थ्य सेवाहरू पुनर्स्थापित गर्नेछ। अस्पतालको उद्घाटनपछि मुख्यमन्त्रीले अस्पतालको भ्रमण गरेका थिए। उनले चिकित्या कर्मीहरूसॅंग अन्तरक्रिया पनि गरे र अस्पतालमा उपलब्ध महत्वपूर्ण उपकरणहरूको बारेमा जानकारी लिए। उनले बिरामीहरूको वार्ड पनि भ्रमण गरे र साफ सफाईका साथै नियमित सेवामाथि जोड दिए।
हिन्दुस्थान समाचार / बिशाल