खरसाङ, 26 सेप्टेम्बर (हि.स.)। तीनधारे महानदी समष्टिको सिविटार बाघमारा बस्तीमा रहेको झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बाका प्रमुख लामा म्हेम्हे 104 वर्षीय चन्द्रवीर लामा (स्याङ्देन म्हेम्हे) को जन्म दिन पालन गरिएको छ। सन् 1921 मा जन्मेका स्याङ्देन म्हेम्हे हालमा 104 वर्ष पुगेकोले शुक्रबार झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बा सिविटार बाघमारा बस्ती, डोल्मा लाखाङ खरसाङका लामा म्हेम्हे र आनीबरुको समूह साथै लामा म्हेम्हेको चेला बा अनुयायी लामाहरुद्वारा बौद्ध परम्परा अनुसार डोल्मा पूजा गरियो।
स्याङ्देन म्हेम्हेको 104 औं जन्म दिन बौद्ध गेदुङ संघ सिविटार बाघमारा अनि काङयुर पूजा सञ्चालन समितिको आयोजनामा सम्पन्न भएको थियो। यस अवसरमा स्याङ्देन म्हेम्हेका चेलाहरु वा अनुयायीजरुले बौद्ध परम्परा अनुसार कुसुम मेण्डल उनलाई अर्पण गरेका थिए। त्यसपछि सबैको उपस्थितिमा 104 वर्षीय चन्द्रवीर लामा (स्याङ्देन म्हेम्हे) को जन्म दिन केक काटेर पालन गरियो।
उनको जन्म दिन पालन गर्नलाई विभिन्न स्थानहरुबाट मानिसहरु उपस्थित रहेका थिए। यस अवसरमा झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बा सञ्चालन समितिका सभापति दावा लामा, सचिव विकास लामा, 11 दिने पूजा आयोजना कमिटीको सभापति पाल्साङ तामाङ र सचिव रोशन तामाङ लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। स्याङ्देन म्हेम्हेले सिविटारको बाघमारा बस्तीमा झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बा निर्माण गरेका छन् भने खरसाङ, दार्जिलिङ, कालेबुङ, सिक्किम, नेपालसम्म उनका चेलाहरु छन्।
उनले जवान अवस्थामा हुँदा दोस्रो विश्व युद्धको अन्तिम समयतिर युद्ध लडेको जानकारी गराइएको छ। उनी आफ्नो बाघमारा बस्तीस्थित घरमा बस्दै आएका छन्। उक्त जन्म दिन पालनपछि झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बामा सनबहादुर तामाङको अध्यक्षतामा सभा पनि सम्पन्न भएको गुम्बा सञ्चालन समितिका सभापति दावा लामाले जानकारी गराएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक