गान्तोक, 26 सेप्टेम्बर (हि.स.)। सिक्किम वीर गोर्खा पूर्व सैनिक कल्याण संघका अध्यक्ष पीबी छेत्रीको अगुवाईमा आज संघका कार्यकारी सदस्यहरूले सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे।
यस भेटको क्रममा संघले सिक्किमका युवाहरूलाई पाङथाङस्थित सिक्किम सशस्त्र पुलिस शिविरमा अग्निवीर योजना अन्तर्गत प्रशिक्षण प्रदान गरिरहेको राज्यपाललाई जानकारी गराइयो। यस प्रशिक्षणले युवाहरूलाई अनुशासित, स्वस्थ र समर्पित जीवन शैली अपनाउन प्रेरित गरिरहेको र उनीहरूलाई भविष्यमा सेनामा भर्तीको लागि मानसिक र शारीरिक रूपमा तयार गर्न सहायक सिद्ध भइरहेको पनि अवगत गराइयो।
राज्यपालले अग्निवीर योजनाप्रति युवाहरूको प्रतिक्रियाको बारेमा जानकारी लिए र युवा वर्गले यसमा निष्ठा र उत्साहको साथमा भाग लिइरहेकोमा खुशी व्यक्त गरे। उनले यो प्रयास युवाहरूको व्यक्तित्व निर्माणमा सहायक हुनुका साथै उनीहरूलाई राष्ट्रको सेवाको दिशामा पनि प्रेरित गर्दछ भनी बताए।
राज्यपालले पूर्व सैनिकहरूद्वारा युवाहरूलाई मार्गदर्शन दिने प्रयासको सराहना गरे। यस अतिरिक्त, संघले समाजहितमा गरिएका अन्य पहलहरू, विशेष रूपमा नशा मुक्त सिक्किमको दिशामा चलाइएका प्रयासहरूको बारेमा जानकारी दिए। राज्यपालले यी जन कल्याणकारी गतिविधिहरूको प्रशंसा गर्दै यस्तो प्रयास समाजमा सकारात्मक परिवर्तन ल्याउन सहायक सिद्ध हुने बताए।
यस अवसरमा संघले राज्यपाललाई आफ्नो वार्षिक रिपोर्ट र वार्षिक पत्रिका 'अग्निवीर' पनि प्रदान गरेको राजभवनले विज्ञप्तिमा बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल