नाम्ची, 26 सेप्टेम्बर (हि.स.)। नाम्ची जिल्लाको नाम्ची ब्लक अन्तर्गत 41 ग्राम प्रशासन केन्द्र, माम्लेमा स्वच्छता ही सेवा अभियान अन्तर्गत श्रमदान दिवस पालन गरियो। मुख्यमन्त्रीको प्रेमसिंह तामाङको निर्देशन र ग्रामीण विकास विभागको पहलमा प्रत्येक जिल्ला अन्तर्गत ब्लक अनि ग्राम पञ्चायतमा सफाई अभियान गर्नुपर्ने भएको हुँदा 41 ग्राम पञ्चायत एकाइमा पनि श्रमदान दिवस पालन गरियो।
पञ्चायत सभापति कृष्णकुमार मङ्गर, सम्पूर्ण पञ्चायतगण, सह-निर्देशक लगायत सबै कर्मचारीवर्गको सहभागिता रहेको थियो। यस अवधि ग्राम प्रशासन केन्द्रभित्र सर-सफाई अनि वरिपरी झार-पात उखाल्ने, पुराना कागज पत्र, पुराना काम नलाग्ने काठ-पात निकाल्ने, टेबल-चौकी पुछपाछ गरी नचाहिने सबै भेला गर्ने कार्य गरियो।
आज सह-निर्देशक डीबी राईको निर्देशनमा श्रमदान दिवसमा सबैले सक्रिय सहभागिता जनाएर पालन गरे। उक्त कार्यक्रमको समापन आगामी 2 अक्टोबर, 2025 को दिन हुनेछ भनी ग्राम प्रशासनिक सहायक गङ्गिमाया मङ्गरले जानकारी गराएकी छन्।
हिन्दुस्थान समाचार / बिशाल