नयाँ दिल्ली, ३० सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय मल्होत्राको निधन भएको छ। उनले आज बिहान राजधानी दिल्लीस्थित एम्स अस्पतालमा ९४ वर्षको उमेरमा अन्तिम सास लिएका हुन्। एम्सले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।
भाजपा नेता मल्होत्रा पछिल्ला ४५ वर्षमा दिल्लीबाट पाँच पटक सांसद र दुई पटक विधायक बनेका थिए। सन् २००४ को आम चुनावमा मल्होत्रा दिल्लीमा आफ्नो सीट जित्ने एकमात्र भाजपा उम्मेदवार बनेका थिए। आफ्नो सम्पूर्ण राजनीतिक जीवनमा उनी निष्कलंक र स्वच्छ छविका नेता बने। मल्होत्राले हिन्दी साहित्यमा डक्टरेट (पीएचडी) उपाधि प्राप्त गरेका थिए। उनी राजनीति र सामाजिक गतिविधिबाहेक दिल्लीमा शतरञ्ज र धनुर्विद्या (तीरन्दाजी) क्लबहरूको प्रशासनमा पनि संलग्न थिए।
मल्होत्राको जन्म ३ दिसेम्बर १९३१ मा हालको पाकिस्तानको लाहोरमा भएको थियो। उनले राष्ट्रिय स्वयंसेवक संघबाट निक्लिएपछि आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। जनसंघ कालदेखि नै उनले दिल्लीमा संघको विचारधाराको विस्तारका लागि धेरै काम गरेका थिए।
दिल्ली भाजपा प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले भने, पार्टीका वरिष्ठ नेता तथा दिल्ली भाजपा का प्रथम अध्यक्ष प्रो. विजय कुमार मल्होत्राको आज बिहान आकस्मिक निधन भएको छ। उनले भने, “प्रो. मल्होत्राको जीवन सादगी र जनसेवामा समर्पणको अद्वितीय उदाहहरण हो। उनको जीवनबाट हामी सबैले प्रेरणा लिनुपर्छ।”
सचदेवाले भने, “प्रो. विजय कुमार मल्होत्रा दिल्लीका पहिलो विकास पुरुष थिए। पटेल नगरलाई मोती नगरसँग जोड्ने दिल्लीको पहिलो फ्लाईओभरको निर्माण उनले १९७०–७५ को आफ्नो मुख्य कार्यकारी पार्षदको कार्यकालमा गरेका थिए।”
हिन्दुस्थान समाचार / भवानी थामी