राष्ट्रिय सुरक्षा सल्लाहकारले युवाहरूलाई इतिहासबाट सिकेर भारतलाई महान राष्ट्र बनाउने आह्वान गरे
राष्ट्रिय सुरक्षा सल्लाहकारले युवाहरूलाई इतिहासबाट सिकेर भारतलाई महान राष्ट्र बनाउने आह्वान गरे


नयाँ दिल्ली, १० जनवरी (हि.स.)। राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले शनिबार युवाहरूलाई दूरदर्शी निर्णय लिन आह्वान गर्दै युवाहरूको मनोबल नै भविष्यमा राष्ट्रको वास्तविक शक्ति बन्ने बताएका छन्।

अजीत डोभाल आज युवा मामिला मन्त्रालयद्वारा आयोजित यङ्ग लिडर्स डायलग कार्यक्रममा सहभागी भएका थिए। यस अवसरमा युवाहरूलाई सम्बोधन गर्दै उनले निर्णय लिने क्षमतालाई अत्यन्त महत्वपूर्ण बताउँदै कुनै पनि कदम चाल्नुअघि दुई कदम अगाडि सोच्नुपर्नेमा जोड दिए। साथै, उपलब्ध विकल्पहरूबारे पहिल्यै विचार गर्नुपर्ने उनले आवश्यकता औंल्याए।

डोभालले भने, विश्वव्यापी स्तरमा हुने द्वन्द्व मूलतः आफ्ना विचार र हित स्थापित गराउने प्रयास हुन्। यदि मनोबल कमजोर भयो भने अत्याधुनिक अस्त्र–शस्त्रसमेत प्रभावकारी रहँदैनन्। यस सन्दर्भमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको प्रशंसा गरे।

इतिहासलाई महत्वपूर्ण पाठको रूपमा उल्लेख गर्दै उनले भने, यदि भावी पुस्ताले इतिहासबाट शिक्षा लिएनन् भने त्योभन्दा ठूलो त्रासदी अरू केही हुन सक्दैन। उनले बताए, विगतमा हामीले आफ्ना सुरक्षा चुनौती र खतराहरूलाई सही रूपमा बुझ्न सकेनौँ, जसका कारण इतिहासले हामीलाई कठोर पाठ सिकायो। अब समय आएको छ कि हामी इतिहासबाट सिकेर देशलाई त्यस्तो उचाइमा पुर्‍याऔँ, जहाँ आफ्नै पहिचान र आस्थाको आधारमा एक महान भारतको निर्माण हुन सकोस्।

डोभालले युवाहरूलाई केवल सही निर्णय लिनु मात्र होइन, ती निर्णयलाई सही साबित गर्न पनि आग्रह गरे। आफ्ना निर्णयमा दृढ रहँदा मात्र सशक्त नेतृत्व विकास हुने उनले बताए। उनले भने, प्रेरणा क्षणिक हुन्छ, तर जब त्यसलाई जीवनको अनुशासनका रूपमा आत्मसात् गरिन्छ, तब त्यो बानी बन्छ।

उनले निर्णय टार्ने प्रवृत्ति त्याग्न र निरन्तर लगनशीलताका साथ काम गर्न युवाहरूलाई प्रेरित गरे। उनले जोड दिँदै भने, युवाहरूको मनोबलबाट नै देशको मनोबल सशक्त बन्छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande