
कोलकाता, १० जनवरी (हि.स.)। पश्चिम बंगालमा अवैध कोइला तस्करीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा कोलकातामा गरिएको खोजी (छापामारी) अभियानबारे प्रवर्तन निर्देशनालय (ईडी) ले आफ्नो विस्तृत प्रतिवेदन दिल्लीस्थित केन्द्रिय मुख्यालयमा पठाएको छ। शुक्रबार नै केन्द्रिय गृह मन्त्रालयले ईडीसँग खोजीका क्रममा के–कस्ता घटनाक्रम भएका थिए भन्नेबारे जानकारी मागेको थियो। त्यसको भोलिपल्ट ईडीले सम्पूर्ण घटनाक्रमको विवरण तयार गरी दिल्ली पठाएको हो। यो प्रतिवेदन आगामी दिनमा केन्द्रिय गृहमन्त्री अमित शाहको कार्यालयसम्म पनि पुग्ने सम्भावना रहेको बताइएको छ।
सूत्रहरूका अनुसार, साल्टलेक सेक्टर–५ स्थित आई–प्याक (इन्डियन पोलिटिकल एक्सन कमिटी) को कार्यालय तथा लाउडन स्ट्रिटमा रहेको संस्थाका प्रमुख प्रतीक जैनको निवासमा खोजी अभियान सञ्चालन गरेका ईडी अधिकारीहरूले आफ्ना प्रत्यक्ष अनुभव र घटनाक्रमका आधारमा यो प्रतिवेदन तयार गरेका हुन्। प्रतिवेदनमा खोजीका क्रममा केन्द्रिय सुरक्षा बल, कोलकाता पुलिस तथा राज्य प्रशासनको भूमिकाबारे पनि विस्तृत उल्लेख गरिएको छ।
ईडी स्रोतको दाबीअनुसार, बिहिबार भएको घटनाबारे गृह मन्त्रालयले विशेष रूपमा खोजीका क्रममा कस्ता–कस्ता अवरोध उत्पन्न भए भन्ने जानकारी मागेको थियो। यही आधारमा प्रत्यक्षदर्शी अधिकारीहरूको बयान समावेश गरी प्रतिवेदन तयार गरिएको हो। यद्यपि, ईडीले यसअघि नै जारी गरेको प्रेस विज्ञप्ति तथा कलकत्ता उच्च अदालतमा दायर गरिएका कागजातहरूमा सो दिनका घटनाहरूको उल्लेख गरिसकेको छ।
केन्द्रिय एजेन्सीको प्रतिवेदनमा खोजी अभियानका क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले हस्तक्षेप गरेको र कथित रूपमा ईडी अधिकारीहरूबाट महत्वपूर्ण कागजात जबरजस्ती खोसेको आरोप पनि समावेश गरिएको छ। प्रतिवेदनअनुसार, यो सम्पूर्ण विवरण अहिले दिल्ली पठाइएको फाइलमा पनि उल्लेख गरिएको छ।
ईडीले अदालतलाई जानकारी दिएको छ कि प्रतीक जैनको लाउडन स्ट्रिटस्थित निवासमा गरिएको खोजीका क्रममा धेरै डिजिटल कागजातहरू जफत गरिएको थियो। बिहान करिब ११:१५ बजी कोलकाता पुलिसका डीसी (दक्षिण) प्रियब्रत राय त्यहाँ पुगेका थिए र अनधिकृत प्रवेशको उजुरी भएको बताएका थिए। त्यसपछि ईडी अधिकारीहरूले आफ्ना परिचयपत्र र खोजी वारन्ट पुलिसलाई देखाएका थिए। त्यसक्रममा पुलिस आयुक्त मनोज वर्मा पनि घटनास्थलमा पुगेका थिए र उनलाई सम्पूर्ण अवस्थाबारे जानकारी गराइएको थियो।
ईडीका अनुसार, दिउँसो लगभग १२:०५ बजी मुख्यमन्त्री ममता ब्यानर्जी घटनास्थलमा आइपुगिन्। उनलाई पटक–पटक खोजी अभियानमा हस्तक्षेप नगर्न आग्रह गरिएको थियो, तर एजेन्सीको आरोपअनुसार कानुनी प्रक्रियाको उल्लङ्घन गर्दै मुख्यमन्त्रीले ईडी अधिकारी प्रशान्त चाण्डिलाको हातबाट डिजिटल कागजात जबरजस्ती खोसेर लगभग १२:१५ बजी त्यहाँबाट प्रस्थान गरिन्।
उल्लेखनीय छ, यस सम्पूर्ण घटनाक्रमलाई लिएर तृणमूल कांग्रेसले पनि कलकत्ता उच्च अदालतमा मुद्दा दायर गरेको छ भने ईडीले छुट्टै याचिका दायर गरेको छ। दुवै मुद्दाको सुनुवाइ १४ जनवरीसम्मका लागि स्थगित गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी