
सोमनाथ (गुजरात), ११ जनवरी (हि.स.)। शताब्दीयौंदेखि पटक–पटक भएका आक्रमणहरूका बावजुद पनि सोमनाथ मन्दिर आजसम्म भारतको अटूट आस्था र अदम्य आत्मबलको प्रतीकका रूपमा गौरवका साथ उभिएको छ। यही भावनाको अद्भुत झल्को शनिबार साँझ अरब सागरमाथिको आकाशमा देख्न पाइयो। लगभग तीन हजारभन्दा बढी ड्रोनको अद्वितीय संयोजनमार्फत सोमनाथ मन्दिरको हजार वर्षे यात्रालाई अत्यन्त रोचक ढंगले प्रस्तुत गरियो। ड्रोन शो हेरेर प्रधानमन्त्री नरेन्द्र मोदी पनि मन्त्रमुग्ध भए। उनले आफ्नो सामाजिक सञ्जाल खातामार्फत यस अद्भुत कार्यक्रमका तस्बिरहरू साझा गरेका छन्।
ड्रोन शोका माध्यमबाट अरब सागरमाथिको आकाशमा प्रकाशका अद्वितीय संयोजनद्वारा विभिन्न बिन्दुचित्र तथा रंगीन आकृतिहरू सिर्जना गरिएका थिए। आकाशमा देखिएका प्रकाशमय दृश्यहरू दर्शकहरूको प्रमुख आकर्षण बने। ड्रोनमार्फत आकाशमा सोमनाथ मन्दिर, त्रिशूल, ॐ, वीर हमीरजी, अहिल्याबाई होल्कर, सरदार वल्लभभाई पटेल तथा नरेन्द्र मोदीका आकृतिहरू बनाइएका थिए। प्रत्येक परिवर्तनशील आकृतिसँगै दर्शकहरूको तालीको गडगडाहट र ‘हर–हर महादेव’ को जयघोषले मन्दिर परिसर गुन्जायमान बन्यो। त्यसपछि रंगीन आतिशबाजीले उपस्थित सबैलाई थप मन्त्रमुग्ध बनायो। यस अद्वितीय आयोजनाले पवित्र सोमनाथ धाममा उत्सवमय र हर्षोल्लासपूर्ण वातावरण सिर्जना गर्यो।
यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल तथा राज्य सरकारका थुप्रै मन्त्रीहरू पनि उपस्थित थिए।
उल्लेखनीय छ, सोमनाथको गाथा केवल एउटा मन्दिरको कथा मात्र होइन, तर भारत माताको संस्कृति र सभ्यताको रक्षा गर्न जीवन समर्पण गर्ने असंख्य वीर सपूतहरूको अदम्य साहसको इतिहास हो। भारतको पश्चिम समुद्री तटस्थित गुजरातको सौराष्ट्र क्षेत्रमा भगवान् सोमनाथ प्रथम ज्योतिर्लिङ्गका रूपमा विराजमान छन्। ‘प्रभास क्षेत्र’ का नामले चिनिने यो पावन भूमि केवल तीर्थस्थल मात्र नभई देशको अटूट श्रद्धा, संघर्ष र पुनरुत्थानको जीवित प्रतीक हो।
मध्यकालमा यस मन्दिरले अनेक आक्रमणहरू सहनुपर्यो। एघारौँ शताब्दीमा महमूद गजनीदेखि अलाउद्दीन खिलजी र औरंगजेबसम्मका आक्रान्ताहरूले मन्दिरलाई लुटे र ध्वस्त पारे। तर प्रत्येक पटक भीमदेव, सिद्धराज जयसिंह र कुमारपालजस्ता नायकहरूले यसको पुनर्निर्माण गराए। आफ्नो आस्थाको रक्षाका लागि हमीरजी गोहिल र वेगडा भीलजस्ता वीरहरूले आफ्नो प्राणको आहुति दिए।
१५ अगस्त, १९४७ मा देश स्वतन्त्र भएपछि जुनागढको मुक्ति पश्चात लौहपुरुष सरदार वल्लभभाई पटेलको दृढ़ संकल्पले आधुनिक सोमनाथ मन्दिरको सपना साकार भयो। ११ मई, १९५१ मा देशका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादले मन्दिरको प्राणप्रतिष्ठा गरे। आधुनिक सोमनाथ मन्दिरको वास्तुकला (कैलाश महामेरु प्रसाद) नागर शैलीको उत्कृष्ट उदाहरण हो, जसको डिजाइन प्रसिद्ध वास्तुकार प्रभा शंकर सोमपुराले गरेको हो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी