
नयाँ दिल्ली, १1 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार राति सोमनाथ स्वाभिमान पर्व अन्तर्गत आयोजित कार्यक्रमहरूमा सहभागी हुन सोमनाथ पुगे। यस अवसरमा उनले ओंकार जापमा सहभागिता जनाए र त्यसपछि मन्दिर परिसरमा आयोजित भव्य ड्रोन शो अवलोकन गरे।
ड्रोन शोमार्फत सोमनाथ मन्दिरको एक हजार वर्षभन्दा लामो गौरवशाली इतिहासलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो, जसले उपस्थित श्रद्धालुहरूलाई मन्त्रमुग्ध बनायो। मन्दिर परिसरमा टाडा–टाडाबाट आएका भक्तजनहरूले प्रधानमन्त्री मोदीको न्यानो स्वागत गरे।
कार्यक्रमका क्रममा प्रख्यात गायक हंसराज रघुवंशीले आफ्ना भक्तिमय भजनहरू प्रस्तुत गर्दै वातावरणलाई भक्तिमय बनाए। उपस्थित जनसमूह उनका गीतहरूमा भावविभोर हुँदै झुमिरहेका देखिए।
सोमनाथ आगमनका अवसरमा प्रधानमन्त्री मोदीले जनताको उत्साह र आत्मीय स्वागतप्रति आभार व्यक्त गरे। उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा तस्बिरहरू साझा गर्दै लेखेका छन्, सोमनाथ स्वाभिमान पर्वको शुभ अवसरमा मन्दिर परिसरमा भव्यता र दिव्यताले भरिएको ड्रोन शो हेर्ने सौभाग्य प्राप्त भयो। यस अद्भुत प्रस्तुतिमा प्राचीन आस्था र आधुनिक प्रविधिको अनुपम संगमले सबैलाई आकर्षित गर्यो। सोमनाथको पावन भूमिबाट निस्किएको यो प्रकाशपुञ्जले विश्वभर भारतको सांस्कृतिक शक्तिको सन्देश फैलाइरहेको छ।
अर्को पोस्टमा प्रधानमन्त्रीले ओंकार जापको उल्लेख गर्दै भने, ‘ॐ’ हाम्रो वेद, शास्त्र, पुराण, उपनिषद् र वेदान्तको सार हो। ॐ ध्यानको मूल हो र योगको आधार हो। ॐ नै साधनामा साध्य हो तथा शब्द ब्रह्मको स्वरूप हो। हाम्रा मन्त्रहरू ॐ बाटै प्रारम्भ र पूर्ण हुन्छन्। उनले भने, आज सोमनाथ स्वाभिमान पर्वमा १००० सेकेन्डसम्म सामूहिक रूपमा ओंकार नादको उच्चारण गर्ने सौभाग्य प्राप्त भयो, जसको ऊर्जाले अन्तर्मन आनन्दित र स्पन्दित बनाएको छ। यसअघि प्रधानमन्त्री मोदीले सोमनाथ ट्रस्टका सदस्यहरूसँग बैठकसमेत गरेका थिए।
उल्लेखनीय छ, आइतबार प्रधानमन्त्री मोदी बिहान सोमनाथ मन्दिरमा पूजा–अर्चना गर्ने छन् र त्यसपछि शोभायात्रामा पनि सहभागी हुनेछन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी