
पश्चिम मेदिनीपुर, 15 जनवरी (हि.स.)। ग्राम्य अञ्चलहरूमा धूलोले भरिएका मैदानहरूबाट भविष्यका फुटबल नक्षत्रहरूलाई खोज्ने दिशामा पश्चिम मेदिनीपुर जिल्ला पुलिसले एक सराहनीय तथा अभिनव पहल शुरू गरेको छ। जिल्ला पुलिस अधीक्षक पलाशचन्द्र ढालीको विशेष मार्गदर्शनमा सम्पूर्ण जिल्लामा ‘जर्मन कप’ फुटबल प्रतियोगिताको आयोजन शुरू गरिएको छ।
यस पहलको उद्देश्य केवल कानून-व्यवस्थासम्म सीमित नरहेर कम्युनिटी पुलिसिंगको माध्यमबाट स-साना विद्यार्थीहरूलाई खेलकुदको मुख्यधारासित जोड़्नु हो। नयाँ शैक्षणिक सत्रको शुरूआतसितै जिल्लाको हरेक थाना क्षेत्रमा स्थानीय स्कूलहरूलाई सामेल गरेर यो टुर्नामेन्ट आयोजना गरिँदैछ। स्थानीय स्तरमा चयनित श्रेष्ठ टीमहरू मेगा फाइनलमा भिड़िनेछन्।
बिहीवार यसै क्रममा मोहनपुर थाना अन्तर्गत आठ वटा स्कूलहरूबीच फुटबल प्रतियोगिता आयोजना गरियो। उद्घाटन समारोहमा मोहनपुरका बीडीओ जयन्त साहा, पञ्चायत समितिका उपाध्यक्ष मनोरञ्जन पात्र, मोहनपुर थानाका आईसी प्रदीप पाल सहित केही गणमान्य मानिसहरू उपस्थित थिए। रोमाञ्चक भिड़न्त पश्चात शियालसाई हाई स्कूलले खिताब आफ्नो झोलीमा पाऱ्यो।
जिल्ला पुलिस अधीक्षक पलाशचन्द्र ढालीले भने, खेलकुदले युवाहरूलाई शारीरिक रूपमा स्वस्थ मात्र नराखेर उनीहरूलाई नशा, अपराध जस्तो कुलतबाट पनि टाड़ा राख्छ। उनले भरोसा व्यक्त गरे, सही प्रशिक्षण र मञ्च पायो भने यी नानीहरूले नै एक दिन राज्य अनि देश स्तरमा जिल्लाको सुनाम फैलाउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा