
खरसाङ, 15 जनवरी (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा हुने भनिएको खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट केही समयका लागि स्थगित गरिएको छ। खरसाङको चानमारी आर्मी खेल मैदानमा आगामी 18 जनवरीदेखि खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको तेह्रौँ संस्करण शुरू हुन लागेको थियो।
खरसाङ महकुमा खेलकूद संघका पदाधिकारीहरूले आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। संघका उपाध्यक्ष फुर्बा घिसिङ र सचिव निर्मल गुरुङले खरसाङको चानमारी आर्मी खेल मैदानमा फुटबल टुर्नामेन्ट आयोजनाको लागि अनुमति प्राप्त भएर नै फुटबल टुर्नामेन्टको लागि खेल तालिका पनि सार्वजनिक गरिएको बताए। तर, हिजो अचानक जलपहाडबाट फोनमार्फत् केही दिनको लागि टुर्नामेन्ट स्थगित गरिदिन सूचना आएपछि खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट स्थगित गर्ने निर्णय लिएको बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक