
नयाँ दिल्ली, 17 जनवरी (हि.स.)। उत्तर भारतमा जारी शीतलहरका कारण शनिबार बिहान राष्ट्रिय राजधानी नयाँ दिल्लीका धेरै भागमा फैलिएको बाक्लो कुहिरोले रेल तथा हवाई यातायातलाई गम्भीर रूपमा प्रभावित गरेको छ। इन्दिरा गान्धी अन्तरराष्ट्रिय (आईजीआई) विमानस्थलमा दृश्यता कम भएपछि धेरै उडानहरू ढिलाई भएका छन्। साथै कुहिरो र कम दृश्यताका कारण कुल १७७ वटा रेल ढिलो सञ्चालन भइरहेका छन्।
दिल्ली विमानस्थल प्रशासनले बिहान उडान सञ्चालनमा ढिलाई हुन सक्ने भन्दै यात्रीहरूका लागि एडभाइजरी जारी गरेको छ। एडभाइजरीमा यात्रीहरूलाई विमानस्थल जानुअघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडानको स्थिति जाँच गर्न आग्रह गरिएको छ, किनकि कुहिरोका कारण उडान सञ्चालनमा बीच–बीचमा प्रभाव पर्न सक्ने बताइएको छ।
रेलवेको ट्रेन रनिङ सूचीअनुसार, धेरै रेलहरू २ घण्टादेखि ८ घण्टासम्म ढिलाइमा चलिरहेका छन्। दिल्ली–एनसीआर क्षेत्रमा दृश्यता कम भएकाले दिल्ली आउने–जाने अधिकांश प्रमुख रेल सेवामा असर परेको छ। प्रयागराज, लखनउ, कानपुर, गाजियाबाद, मेरठ, आगरा तथा झाँसी डिभिजनका रेलहरूमा उल्लेख्य ढिलाई देखिएको छ। रेल अधिकारीहरूका अनुसार, कुहिरोका कारण सिग्नलिङ र लोकेसन दृश्यता प्रभावित हुँदा रेलहरू नियन्त्रणित गतिमा सञ्चालन गर्नुपरेको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले शीतलहर र घना कुहिरोका लागि येलो अलर्ट जारी गरेको छ। यद्यपि आईएमडीका अनुसार, न्यूनतम तापक्रममा केही सुधार आएको छ। १६ जनवरीमा ४ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम १७ जनवरी बिहान ७ डिग्री सेल्सियस पुगेको छ।
यसैबीच, दिल्लीको वायु गुणस्तर पनि गम्भीर चिन्ताको विषय बनेको छ। केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का तथ्यांकअनुसार बिहान लगभग ७ बजी राष्ट्रिय राजधानीको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ३६८ मापन गरिएको थियो, जसले दिल्लीको हावा “अत्यन्त खराब” श्रेणीमा परेको देखाउँछ।
हिन्दुस्थान समाचार / भवानी थामी