देशले पायो पहिलो वन्दे भारत स्लीपर ट्रेन, प्रधानमन्त्रीले देखाए हरियो झण्डा
वन्दे भारत


नयाँ दिल्ली, 17 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालको मालदामा शनिबार देशको पहिलो वन्दे भारत स्लीपर ट्रेनलाई हरियो झण्डा देखाएर शुभारम्भ गरे। यो ट्रेन कोलकाता (हावड़ा) देखि गुवाहाटी (कामाख्या) सम्म सञ्चालन हुनेछ र ९५८ किलोमिटरको दूरी मात्र १४ घण्टामा पूरा गर्नेछ। हाल यही यात्रा पूरा गर्न लगभग १७ घण्टा लाग्दै आएको छ।

उद्घाटन समारोहका क्रममा प्रधानमन्त्रीले ट्रेनमा सवार बालबालिका तथा विद्यार्थीहरूसँग संवाद गरे। विद्यार्थीहरूले कविता सुनाए र आफ्ना अनुभव साझा गरे भने प्रधानमन्त्रीले उनीहरूलाई अटोग्राफ दिनुका साथै आफ्ना अनुभव पनि सुनाए। उनले ट्रेनका चालक तथा स्टाफसँग पनि कुराकानी गरे। स्टेशनमा उपस्थित जनताले हातमा तिरंगा बोकेर प्रधानमन्त्रीको स्वागत गरे। यस अवसरमा स्टेशनमा ठूलो भीड जम्मा भएको थियो। कार्यक्रममा रेलमन्त्री अश्विनी वैष्णवले प्रधानमन्त्रीलाई देवीको प्रतिमा भेंट गरे।

रेलवे बोर्डका अनुसार, वन्दे भारत स्लीपर ट्रेनमा आरएसीको व्यवस्था रहने छैन। ट्रेनमा कुल १६ डिब्बा रहनेछन्, जसमा ११ वटा थर्ड एसी, ४ वटा सेकन्ड एसी र १ वटा फर्स्ट एसी डिब्बा समावेश छन्। यस ट्रेनको भाडा राजधानी एक्सप्रेसजस्ता प्रिमियम ट्रेनभन्दा अलिकति बढी हुनेछ। गुवाहाटीदेखि हावडासम्म थर्ड एसीको भाडा लगभग दुई हजार तीन सय ​रूपियॉं तोकिएको छ।

उल्लेखनीय छ, रेलमन्त्री वैष्णवले १ जनवरीमा हावड़ा–गुवाहाटी मार्गमा एसी–१, एसी–२ र एसी–३ श्रेणीका सम्भावित भाडाहरूको घोषणा गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande