
पूर्वी चम्पारण, ०६ जनवरी (हि.स.)। बिहारको पूर्वी चम्पारण जिल्लाको कल्याणपुर प्रखण्ड अन्तर्गत कैथवलियामा निर्माणाधीन विराट रामायण मन्दिरमा स्थापना गरिने भगवान शिवको विराट शिवलिङ्ग गण्डक नदीमाथि बनेको डुमरियाघाट पुल पार गर्दै जिल्लाको सीमामा प्रवेश गरेको छ। यस अवसरमा कडा जाडोका बावजुद हजारौँ श्रद्धालु “हर हर महादेव” का नारा लगाउँदै शिवलिङ्गको दर्शन तथा पूजा गर्न उपस्थित भए। शिवलिङ्ग डुमरियाघाट पुल पार गरेपछि नरसिंह बाबा मन्दिर, दुबौली चोक, रामपुर खजुरिया चोक र हुसैनी बजारसम्म सडकको दुवै किनारमा श्रद्धालुहरूको भीड लागेको थियो। ठाउँ–ठाउँमा आमाहरू, ज्येष्ठ नागरिक र युवाहरूले फूलमालाले बाबा भोलेनाथको स्वागत गरे।
सोमबार अबेर साँझ शिवलिङ्ग डुमरियाघाट पुल नजिक पुगेपछि श्रद्धालुले विधिपूर्वक दर्शन गरे। त्यसपछि दुबौली चोक र रामपुर खजुरिया चोकमा श्रद्धालुको ठूलो भीड देखियो। अत्यधिक भीडलाई मध्यनजर गर्दै प्रशासनले थप सतर्कता अपनाउनुपर्यो। राष्ट्रिय राजमार्ग २७ मा एकतर्फी सवारी आवागमन अस्थायी रूपमा रोकिएको थियो।
यस क्रममा एनएचएआईको टोलीसँगै ठूलो संख्यामा पुलिस बल तैनाथ गरिएको थियो। यो ऐतिहासिक क्षणको फोटो र भिडियो खिच्न मानिसहरूबीच निकै होड देखियो।
उल्लेखनीय छ, तमिलनाडुको महाबलीपुरममा निर्माण गरिएको विश्वकै सबैभन्दा विशाल शिवलिङ्ग करिब २१० मेट्रिक टन तौलको र ३३ फिट अग्लो छ। यसलाई ल्याउन ९६ चक्के विशेष ट्रक प्रयोग गरिएको हो। खरमासपछि विशेष पूजा सम्पन्न गरी यस शिवलिङ्गलाई विराट रामायण मन्दिरमा स्थापना गरिनेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी