प्रधानमन्त्री मोदी सहित अन्य नेताद्वारा महाराजा अग्रसेन, नानाजी देशमुख र जयप्रकाश नारायणलाई श्रद्धाञ्जली
प्रतीकात्मक


नयाँ दिल्ली, ११ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह तथा अन्य नेताहरूले आइतवार महाराजा अग्रसेन, नानाजी देशमुख र लोकनायक जयप्रकाश नारायणको जयन्तीका अवसरमा उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा सन्देश लेख्दै जनसेवा र सामाजिक सद्भावका अग्रदूत महाराजा अग्रसेनको जीवन तथा आदर्शले मानवताको मार्गमा निरन्तर अघि बढ्न प्रेरणा दिने बताएका छन्। उनका महान् विचार भारतीय सांस्कृतिक पुनर्जागरणका लागि सधैँ प्रेरणाको स्रोत बनिरहने उनले उल्लेख गरेका छन्।

त्यसैगरी, प्रधानमन्त्रीले नानाजी देशमुखलाई आफ्ना विचार र कार्य मार्फत वास्तविक परिवर्तनको शुरूआत तल्लो तहबाटै हुने देखाउने असाधारण राष्ट्रनिर्माताका रूपमा स्मरण गरेका छन्। उनको जीवनमा राजनीतिक प्रतिबद्धता र रचनात्मक सामाजिक कार्यको अनौठो समन्वय रहेको उल्लेख गर्दै उनले ग्रामीण विकास तथा सामुदायिक सहभागिताका लागि आफूलाई पूर्ण रूपमा समर्पित गरेको बताएका छन्। नानाजीको सुदृढ़ र आत्मनिर्भर भारत निर्माण गर्ने सपना साकार पार्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

लोकनायक जयप्रकाश नारायणको प्रभाव हरेक पुस्ताका मानिसमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले सार्वजनिक जीवन देशको नवनिर्माणको माध्यम बन्नसक्छ भन्ने विश्वास उनले जनतामा जगाएको बताएका छन्। आपातकालका बेला उनले निर्भीक रूपमा उठाएको आवाज पनि उल्लेखनीय रहेको मोदीले बताएका छन्।

रक्षामन्त्री राजनाथ सिंहले राष्ट्रऋषि, प्रख्यात विचारक, समाज सुधारक तथा ‘ग्राम उदय’ का प्रणेता भारत रत्न नानाजी देशमुखको सम्पूर्ण जीवन त्याग, सेवा र निःस्वार्थ कर्मयोगको अनुकरणीय उदाहरण रहेको बताएका छन्। नानाजीले आफ्नो सम्पूर्ण जीवन, ऊर्जा र समय ग्रामीण विकास, ग्राम स्वराज तथा अन्त्योदयका लागि समर्पित गरेको उल्लेख गर्दै मानवताप्रतिको उनको समर्पण र राष्ट्रनिर्माणमा पुर्याएको विशिष्ट योगदानले भावी पुस्तालाई सधैँ प्रेरित गरिरहने बताएका छन्।

सिंहले लोकनायक जयप्रकाश नारायणको जीवन लोकतान्त्रिक मूल्य र राष्ट्रिय हितप्रतिको अटुट प्रतिबद्धताको प्रतीक रहेको पनि बताएका छन्। उनको ‘सम्पूर्ण क्रान्ति’ को आह्वान राजनीतिमा इमानदारी, शासनमा जवाफदेहिता र समाजमा नैतिक जागरण ल्याउने सङ्कल्प रहेको उनले उल्लेख गरेका छन्। आपातकालको कठिन समयमा जयप्रकाश नारायणले अदम्य साहसका साथ तानाशाहीको विरोध गरेको र संविधान, नागरिक स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकारको रक्षाका लागि गरेको सङ्घर्ष भारतीय इतिहासमा सधैँ स्मरणीय रहने उनले बताएका छन्। उनी अनुसार. लोकनायकको जीवनले सिद्धान्त सत्ताभन्दा ठूलो र राष्ट्रिय हित व्यक्तिगत लाभभन्दा माथि हुने सन्देश दिन्छ।

केन्द्रिय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहले राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) का मूल्यलाई आफ्नो जीवनमा आत्मसात् गर्दै नानाजी देशमुखले समाजका अन्तिम व्यक्तिको उत्थान, ग्रामीण विकास र आत्मनिर्भरताका लागि आफूलाई पूर्ण रूपमा समर्पित गरेको बताएका छन्। सङ्गठनप्रतिको उनको अटुट निष्ठा र राष्ट्रनिर्माणमा पुर्याएको विशिष्ट योगदान युवाहरूका लागि सधैँ प्रेरणाको स्रोत रहने शाहले उल्लेख गरेका छन्।

त्यसैगरी, स्वतन्त्रता सङ्ग्राममा युवाशक्तिलाई सहभागी गराउनेदेखि ग्रामीण भारतलाई सशक्त बनाउने र स्वतन्त्रतापछि ‘सर्वोदय’ को लक्ष्य प्राप्तिका लागि प्रयास गर्नेसम्म जयप्रकाश नारायणको सम्पूर्ण जीवन देश र समाजप्रति समर्पित रहेको शाहले बताएका छन्। आपातकालका बेला उनको ‘सम्पूर्ण क्रान्ति’ को आह्वान करोड़ौं देशवासीको आवाज बनेको उल्लेख गर्दै उनले देश र समाजप्रतिको जयप्रकाश नारायणको समर्पणले भावी पुस्तालाई मार्गदर्शन गरिरहने बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande