
नयाँ दिल्ली, ११ अक्टोबर (हि.स.)। दिल्ली पुलिसको सावधानीका लागि गरिएको पक्राउबाट रिहा भएपछि ककरोच जनता पार्टीका नेता अभिजीत दिपके आइतवार वरिष्ठ अधिवक्ता कपिल सिब्बललाई भेट्न पुगे। भेटपछि दिपकेले आफ्नी बोज्यूको निधन भएकाले महाराष्ट्र स्थित घर फर्कन लागेको बताएका छन्। रिहा भएका आशुतोष राङ्का र सौरभ दासले भने आइतवार दिउँसो घटनाक्रमबारे पत्रकार सम्मेलन गर्ने भएका छन्। रिहाइपछि सौरभ दासले पनि पत्रकार सम्मेलन मार्फत आगामी रणनीतिबारे जानकारी दिने बताएका छन्।
घटनाक्रमबारे प्रतिक्रिया दिँदै दिपकेले भने, “के भयो भन्ने कुरा सारा संसारले देखेको छ। ज्ञानेश कुमारको सुरक्षाका लागि पूरै दिल्ली ठप्प भयो। ज्ञानेश कुमारमा त्यस्तो के विशेषता छ, जसका कारण लाखौँ मानिसलाई असुविधामा पारेर उनको सुरक्षा गर्नुपर्यो?”
ककरोच जनता पार्टीका नेता अभिजीत दिपके, आशुतोष राङ्का र सौरभ दासलाई शनिवार दिल्ली विमानस्थलमा विमानभित्रैबाट सावधानीका लागि पक्राउ गरिएको थियो। आइतवार उनीहरूलाई विशेष कार्यकारी मजिस्ट्रेट (एसईएम) अदालतमा उपस्थित गराइएको थियो। अदालतले ५० हजार रुपियाँको बन्धपत्रमा उनीहरूलाई रिहा गरेको हो।
दिल्ली पुलिस अनुसार, अभिजीत दिपके, आशुतोष राङ्का र सौरभ दासलाई भारतीय नागरिक सुरक्षा संहिताको धारा १२६/१७० अन्तर्गत सावधानीका लागि १० अक्टोबर, शनिवार पक्राउ गरिएको थियो। सबै कानूनी प्रक्रिया पूरा गरी उनीहरूलाई ११ अक्टोबर, आइतवार दिल्ली क्यान्ट स्थित एसईएम अदालतमा उपस्थित गराइएको थियो।
पुलिस अनुसार, शान्ति र सद्व्यवहार कायम राख्ने सर्तमा एक वर्षका लागि ५० हजार रुपियाँको जमानत बन्धपत्र भराएपछि अदालतले उनीहरूलाई रिहा गरेको हो।
हिन्दुस्थान समाचार / भवानी थामी