
चेन्नई, ११ अक्टोबर (हि.स.)। चेन्नईमा दोस्रो चरण अन्तर्गत पून्दमल्ली–वडपलनी मेट्रो रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री विजयले संयुक्त रूपमा उद्घाटन गरे। विमानस्थलदेखि पोरुरसम्म प्रधानमन्त्रीको उत्साहपूर्वक स्वागत गरियो। त्यसपछि दुवै नेताले एकसाथ मेट्रो रेलमा यात्रा गर्दै विद्यार्थी तथा सर्वसाधारणसँग कुराकानी गरे।
चेन्नई महानगरका बासिन्दाले लामो समयदेखि प्रतीक्षा गरिरहेको दोस्रो चरणको मेट्रो रेल परियोजनाको पहिलो खण्ड अब औपचारिक रूपमा सर्वसाधारणका लागि सञ्चालनमा आएको छ। शहरमा यातायातको चाप कम गर्ने र यात्राको समय घटाउने उद्देश्यले पून्दमल्ली बाइपासदेखि वडपलनीसम्म १४.६ किलोमिटर लामो मार्ग निर्माण गरिएको हो।
तमिलनाडुमा नयाँ सरकारले सत्ता सम्हालेपछि पहिलो पटक चेन्नई पुगेका प्रधानमन्त्री मोदीले मुख्यमन्त्री विजयको उपस्थितिमा मेट्रो रेल सेवाको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहपछि दुवै नेताले एउटै मेट्रो रेलमा यात्रा गरे। यस घटनाले तमिलनाडुको राजनीतिक वृत्त र सर्वसाधारणबीच व्यापक ध्यान आकर्षित गरेको छ।
दिल्लीबाट विशेष विमान मार्फत आइतवार बिहान लगभग ११ बजी चेन्नई पुगेका प्रधानमन्त्री मोदीलाई तमिलनाडुका मुख्यमन्त्री विजय र मन्त्रीहरूले विमानस्थलमा शाल ओढ़ाएर औपचारिक स्वागत गरे। त्यसपछि प्रधानमन्त्री सड़कमार्ग हुँदै गाड़ीमा पोरुरतर्फ प्रस्थान गरे। विमानस्थलदेखि पोरुरसम्म बाटोभरि भेला भएका भारतीय जनता पार्टीका कार्यकर्ता तथा सर्वसाधारणले उनको उत्साहपूर्वक स्वागत गरे। जनताको आत्मीय स्वागत स्वीकार गर्दै प्रधानमन्त्री मोदीले गाडीको ढोका खोलेर उनीहरूलाई अभिवादन गरे।
पोरुर मेट्रो रेल स्टेशन पुगेपछि प्रधानमन्त्री मोदीले पून्दमल्ली–वडपलनीबीचको नयाँ मेट्रो रेल सेवाको औपचारिक उद्घाटन गरे। त्यसपछि उनले मुख्यमन्त्री विजयसँगै मेट्रो रेलमा यात्रा गरे। यात्राका क्रममा दुवै नेताले रेलमा रहेका सर्वसाधारण र विद्यालयका विद्यार्थीसँग उत्साहपूर्वक कुराकानी गरे।
दोस्रो चरणको मेट्रो परियोजनाको पहिलो खण्ड अन्तर्गत हाल ११ वटा मेट्रो स्टेशन सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको छ। यात्रुलाई सहज र निर्बाध सेवा उपलब्ध गराउन मेट्रो प्रशासनले आधुनिक सुरक्षा व्यवस्था तथा आवश्यक आधारभूत सुविधाहरूको प्रबन्ध गरेको जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी