मणिपुरमा छुट्टा-छुट्टै अभियानमा तीन उग्रवादी पक्राउ
मणिपुर पुलिस द्वारा साझा तस्वीर।


इम्फाल, ११ अक्टोबर (हि.स.)। मणिपुरमा पुलिस र केन्द्रिय सुरक्षा बलले पछिल्लो २४ घण्टामा सञ्चालन गरेका छुट्टा-छुट्टै अभियानमा प्रतिबन्धित दुई उग्रवादी सङ्गठनका तीन सक्रिय सदस्यलाई पक्राउ गरेका छन्। पक्रा परेकाहरूमाथि बलजफ्ती रकम असुली तथा हतियार ओसारपोसारमा संलग्न रहेको आरोप लागेको छ। पुलिसले दुवै घटनामा प्राथमिकी दर्ता गरी अनुसन्धान शुरु गरेको छ।

पुलिस अनुसार, विशेष सूचनाका आधारमा मणिपुर पुलिस र केन्द्रिय सुरक्षा बलको संयुक्त टोलीले १० अक्टोबरमा इम्फाल पश्चिम जिल्लाको लाम्बोइखोङनाङखोङ क्षेत्रमा अभियान सञ्चालन गरेको थियो। उक्त अभियानका क्रममा रिभोल्युसनरी पिपुल्स फ्रन्ट (आरपीएफ)/पिपुल्स लिबरेसन आर्मी (पीएलए) को कथित सक्रिय सदस्य वाङखेम मलेमङनबा (३७) लाई पक्राउ गरिएको हो। उ सोही क्षेत्रको लेन नम्बर १२ को बासिन्दा हो। उमाथि बलजफ्ती रकम असुलीमा संलग्न रहेको आरोप छ। यस सम्बन्धमा लाम्फेल पुलिस थानामा मुद्दा दर्ता गरिएको छ।

अर्को अभियान अन्तर्गत सोही दिन थौबल जिल्लामा बलजफ्ती रकम असुली सम्बन्धी गतिविधिबारे प्राप्त सूचनाका आधारमा सीडीओ–थौबलको टोलीले प्रीपाक (प्रो) को कथित सक्रिय सदस्य एलाङबम दिनेश सिंह (३८) लाई खाङ्गाबोकबाट पक्राउ गरेको थियो।

पूछताछका क्रममा प्राप्त जानकारीका आधारमा सुरक्षा बलले काकचिङ लाम्खाई निवासी पोतशङबम बिजेन सिंह (३३) लाई पनि पक्राउ गरेको पुलिसले जनाएको छ। पुलिस अनुसार, दुवै जनामाथि बलजफ्ती रकम असुली र हतियार ओसापोसारमा संलग्न रहेको आरोप छ। यस घटनामा थौबल पुलिस थानामा प्राथमिकी दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande