इन्डिया गठबन्धनको सर्वोच्च अदालतसम्मको मार्चलाई लिएर एकनाथ शिन्देको आरोप, विदेशी शक्ति र अन्तरराष्ट्रिय षड्यन्त्रको आशङ्का
फाईल फोटो: उपमुख्यमंत्री एकनाथ शिंदे


मुम्बई, १३ अक्टोबर (हि.स.)। दिल्लीमा सर्वोच्च अदालतसम्म निकालिएको मार्चलाई लिएर महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले मङ्गलवार विपक्षीमाथि कड़ा प्रहार गरेका छन्। उनले यस घटनाक्रममा विदेशी शक्तिहरूको संलग्नता रहेको र अन्तरराष्ट्रिय षड्यन्त्र भएको हुनसक्ने आशङ्का समेत व्यक्त गरे। यद्यपि, यी आरोपहरूको समर्थनमा उनले कुनै ठोस प्रमाण प्रस्तुत गरेनन्।

उपमुख्यमन्त्री शिन्देले मङ्गलवार यहाँ पत्रकारहरूसँग कुरा गर्दै इन्डिया गठबन्धनले सर्वोच्च अदालतसम्म निकालेको मार्चलाई देशको इतिहासको ‘कालो दिन’ बताए। उनले राहुल गान्धी र इन्डिया गठबन्धनको आलोचना गर्दै न्यायपालिकामाथि दबाब सिर्जना गर्ने प्रयास गरिएको आरोप लगाए। भारतीय संविधानले देशलाई सुदृढ़ संवैधानिक निकायहरू प्रदान गरेको उल्लेख गर्दै उनले न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए।

शिन्देले सर्वोच्च अदालतसम्म मार्च निकालेर दबाब सिर्जना गर्ने प्रयास दुर्भाग्यपूर्ण भएको बताए। लोकतन्त्रमा विरोध प्रदर्शन गर्नु सबैको अधिकार भए पनि न्यायपालिकासँग सम्बन्धित विषयमा यस प्रकारको विरोध उचित नभएको उनको भनाइ थियो। उनले भारतीय न्यायपालिकामाथि कथित आक्रमण गरेको भन्दै राहुल गान्धी र इन्डिया गठबन्धनसँग माफी माग्न समेत माग गरे।

उनले विपक्षीमाथि देशमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउँदै केही विदेशी शक्तिहरूले भारतलाई कमजोर बनाउने प्रयास गरिरहेको बताए। दिल्लीमा भएको मार्च कुनै अन्तरराष्ट्रिय षड्यन्त्रको हिस्सा हुनसक्ने आशङ्का पनि उनले व्यक्त गरे। विपक्षीले चुनाउमा प्रधानमन्त्री नरेन्द्र मोदीको सामना गर्न नसकिरहेका कारण यस्ता आन्दोलन मार्फत राजनीतिक वातावरण निर्माण गर्ने प्रयास गरिरहेको उनले आरोप लगाए।

शिन्देले विपक्षीको रणनीतिले देशको लोकतान्त्रिक व्यवस्था र संवैधानिक निकायहरूलाई क्षति पुग्नसक्ने दाबी गरे। उनले आपत्कालको प्रसङ्ग उठाउँदै विपक्षीलाई प्रश्न गरे, यदि देशमा वास्तवमै आपत्काल लागेको भए के मानिसहरूले यसरी सर्वोच्च अदालतसम्म मार्च निकाल्न र खुलेर आफ्नो विचार व्यक्त गर्न सक्थे? लोकतन्त्रमा आफ्ना कुरा राख्ने अधिकार भए पनि न्यायपालिकाको बारम्बार अपमान गर्नु उचित नभएको उनले बताए।

उनले विपक्षीमाथि संविधानलाई कमजोर बनाउने प्रयास गरेको आरोप समेत लगाए। मतदाता सूची सम्बन्धी विवादमा शिन्देले कसैमाथि अन्याय नहुने दाबी गर्दै फाराम–६ मार्फत मतदाता सूचीमा नाम दर्ता गराउने प्रक्रिया उपलब्ध रहेको बताए। विपक्षीले चुनावी मुद्दालाई लिएर अनावश्यक विवाद सिर्जना गर्दै राजनीतिक लाभ लिने प्रयास गरिरहेको आरोप पनि उनले लगाए। विपक्षीका गतिविधिको उद्देश्य सत्ता प्राप्त गर्नु रहेको उनको दाबी थियो। प्रधानमन्त्री मोदीको निरन्तर विरोध गरेको भन्दै उनले विपक्षीमाथि निशाना साधे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande