
नयाँ दिल्ली, १३ अक्टोबर (हि.स.)। जन्तर-मन्तरलाई विरोध प्रदर्शनस्थलको सूचीबाट हटाइएको एक दिनपछि बुधवार बिहान ककरोच जनता पार्टी (सीजेपी) का कार्यकर्ताहरू पुनः त्यहाँ पुगे। सीजेपीका राष्ट्रिय प्रवक्ता आशुतोष रांका र सौरव दासको नेतृत्वमा कार्यकर्ताहरूले पुलिसलाई छक्याउँदै फलामो ढोका र अवरोधक नाघेर जन्तर-मन्तर पुगे। त्यहाँ उनीहरूले नाराबाजी गरे।
पुलिसले प्रदर्शनकारीहरूलाई रोक्ने प्रयास गरेपछि स्थिति तनावपूर्ण बन्यो। त्यसपछि पुलिसले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लियो। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था थप कड़ा पारिएको छ।
यी नेताहरूले यस्तो कदम त्यतिबेला उठाएका हुन्, जतिबेला दिल्लीको विशेष कार्यपालक मजिस्ट्रेट अदालतले उनीहरूलाई एक वर्षसम्म शान्ति कायम राख्ने र राम्रो आचरण पालना गर्ने सर्तमा जमानत दिएको थियो। यसका लागि उनीहरूबाट ५० हजार रुपियाँको जमानतपत्र समेत भराइएको थियो।
सीजेपी प्रमुख अभिजीत दीपकेले सामाजिक सञ्जाल ‘एक्स’ मा घटनाको भीडियो साझा गरेका छन्। भीडियोमा प्रदर्शनकारीहरू सुरक्षा व्यवस्थाबीच ढोकामाथि चढ्दै र झण्डा बोकेर दौड़िँदै गरेको देखिन्छ। त्यसपछि दिल्ली पुलिसका अधिकारीहरूले उनीहरूलाई त्यहाँबाट लैजाँदै गरेको देखिन्छ। कार्यकर्ताहरूले ‘भारत माता की जय’ र ‘इन्कलाब जिन्दाबाद’ का नारा लगाइरहेका थिए।
आशुतोष रांकाले राष्ट्रिय झण्डा सहितको आफ्नो तस्बिर साझा गर्दै लेखेका छन्, “हामी प्रयास गरिरहेका छैनौँ, जन्तर-मन्तर पुगिसकेका छौँ।”
त्यस्तै, सौरव दासले भीडियो सार्वजनिक गर्दै जन्तर-मन्तरमा फेरि कब्जा गरिएको दाबी गरेका छन्। उनले कार्यकर्ताहरू त्यहाँ पुगिसकेको र अहिले उनीहरूलाई नियन्त्रणमा लिइँदै गरेको बताएका छन्। दासले युवाहरूलाई सन्देश दिँदै उनीहरूले पनि यस्तो गर्न सक्ने लेखेका छन्। आफ्नो पोस्टमा उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई समेत निशाना बनाएका छन्।
उल्लेखनीय छ, दिल्ली पुलिसले १२ अक्टोबरमा सूचना जारी गर्दै जन्तर-मन्तरलाई विरोध प्रदर्शनस्थलको सूचीबाट हटाइएको जानकारी दिएको थियो। केन्द्रिय गृह मन्त्रालयको एउटा समितिको सिफारिसका आधारमा राजधानीमा धरना तथा प्रदर्शनका लागि तीन वटा नयाँ स्थान निर्धारण गरिएको छ। ती स्थानमा रामलीला मैदान, बुराड़ी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान समावेश छन्।
मध्य दिल्लीको उच्च सुरक्षा क्षेत्रमा अवस्थित जन्तर-मन्तर दशकौँदेखि विरोध प्रदर्शनको प्रमुख केन्द्र रहँदै आएको छ। पछिल्ला दिनहरूमा यहाँ मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार विरुद्ध विशेष सघन पुनरावलोकन (एसआईआर) को विषयलाई लिएर विपक्षी इन्डी गठबन्धन र सीजेपीले प्रदर्शन गरेका थिए। यिनै प्रदर्शनहरू भइरहेका बेला जन्तर-मन्तरलाई प्रदर्शनस्थलको सूचीबाट हटाउने निर्णय गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी