
पटना/वैशाली, १४ अक्टोबर (हि.स.)। बिहारको वैशाली जिल्लाको राघोपुरमा मङ्गलबार अबेर राति करिब १२ बजी गङ्गा नदीमा डुङ्गा पल्टिँदा १३ जना बालबालिकाको मृत्यु भएको छ। मृतकमध्ये ७ जना एउटै परिवारका थिए।
वैशालीकी जिल्लाधिकारी वर्षा सिंहले घटनाको पुष्टि गरेकी छन्। मृतक सबै बालबालिका हुन् र उनीहरूको उमेर १५ वर्षभन्दा कम रहेको छ। डुङ्गामा २० जना सवार थिए, जसमध्ये ७ जनालाई उद्धार गरिएको छ।
वैशालीकी जिल्लाधिकारीले अहिलेसम्म १३ वटा शव बरामद गरिएको बताइन्।
उनले भनिन्, “राति एउटा सानो डुङ्गामा २० जना बालबालिका छिमेकी गाउँमा भोज खान जाँदै गरेको सूचना प्राप्त भएको थियो। यसै क्रममा डुङ्गा पल्टियो, जसमा १३ जना बालबालिकाको मृत्यु भएको छ। घटनामा ७ जनालाई उद्धार गरिएको छ। सबैलाई एनएमसीएच पठाइएको छ। उनीहरू सबै खतरामुक्त छन्।”
स्थानीयवासीका अनुसार राघोपुर थाना क्षेत्रको रामपुर श्यामचन्द गाउँनजिक मङ्गलबार राति अबेर गङ्गा नदीमा एउटा डुङ्गा सन्तुलन गुमाएर पल्टिएको थियो। डुङ्गामा २० जना सवार थिए। नदीको बीच धारमा अचानक डुङ्गा पल्टिएपछि होहल्ला मच्चियो। हेर्दाहेर्दै मानिसहरू गहिरो पानीमा खस्न थाले। दुर्घटनापछि घटनास्थलमा रुवाबासी मच्चियो। घटनाबारे जानकारी प्राप्त हुनासाथ छेउछाउका गाउँका बासिन्दाहरू घटनास्थलमा भेला भए र आफ्नै स्तरबाट मानिसहरूलाई बचाउने प्रयास शुरु गरे।
बिहारका मुख्यमन्त्री सम्राट चौधरीले पनि डुङ्गा दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालको माध्यम एक्समा लेखेका छन्, “वैशालीको राघोपुरमा भएको डुङ्गा दुर्घटनामा निर्दोष बालबालिकाको मृत्यु भएको समाचार अत्यन्तै दुःखद र हृदयविदारक छ। यस कठिन समयमा शोकसन्तप्त परिवारजनप्रति मेरो गहिरो समवेदना छ। ईश्वरले दिवङ्गत आत्माहरूलाई शान्ति प्रदान गरून् र परिवारजनलाई यो ठूलो दुःख सहन गर्ने शक्ति प्रदान गरून्। राज्य सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिव्यक्ति ४ लाख रुपियाँका दरले आर्थिक सहायता (अनुग्रह राशि) प्रदान गरिनेछ। प्रशासनलाई राहत तथा उद्धार कार्य तीव्र गतिमा सम्पन्न गर्न र घाइतेहरूको राम्रो उपचार सुनिश्चित गर्न निर्देशन दिइएको छ।”
विपक्षी दलका नेता तेजस्वी यादवले आफ्नो सामाजिक सञ्जालको माध्यम एक्समा लेखेका छन्, “राघोपुर दियारा क्षेत्रमा डुङ्गा पल्टिएको दुर्भाग्यपूर्ण तथा दुःखद खबर प्राप्त भएको छ। डुब्नेहरूमध्ये अधिकांश बालबालिका छन्। ईश्वरले सबैलाई सुरक्षित राखून्।”
उनले स्थानीय बासिन्दा तथा प्रशासनसँग कुराकानी गरी राहत र उद्धार कार्यमा तीव्रता ल्याउन आग्रह गरेका छन्।
/ बिशाल