
नयॉं दिल्ली, 16 अक्टोबर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले पञ्जाबमा लागुऔषधको कारोबार, गुण्डागर्दी र सङ्गठित अपराधको बढ्दो खतरालाई लिएर शुक्रबार भगवन्त मान नेतृत्वको सरकारमाथि निशाना साध्दै राज्यको कानून-व्यवस्था स्थितिमाथि प्रश्न उठाएका छन्।
शाहले सामाजिक सञ्जाल ‘एक्स’ मा गरेको पोस्टमा पञ्जाब अहिले लागुऔषध, गुण्डागर्दी र सङ्गठित अपराधको बढ्दो खतरासँग जुधिरहेको बताएका छन्। उनले मान सरकारसामु सबैभन्दा ठूलो चुनौती पञ्जाबका जनताको सुरक्षाको जिम्मेवारी आखिर कसले लिने भन्ने रहेको प्रश्न गरेका छन्।
गृहमन्त्रीले दिरबामा एक जना पिताले दबाउका कारण विष सेवन गरेको र मानसामा लागुऔषधविरुद्ध आवाज उठाउने परविन्दर सिंह झोटाको दिउॅंसै हत्या भएको घटनाको उल्लेख गर्दै यी घटनाले पञ्जाबको कानून-व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन्। उनले परविन्दरका पिताले आम आदमी पार्टी (आप) सरकार र त्यसका एक विधायकमाथि गम्भीर आरोप लगाएको दाबी गरेका छन्। शाहले यी दुवै घटनाका विषयमा गृह मन्त्रालयले पनि पञ्जाब सरकारसँग जवाफ माग्ने बताएका छन्।
उनले राज्यमा लागुऔषधको कारोबार फस्टाइरहेको, सङ्गठित अपराधको खतरा बढिरहेको र लागुऔषधविरुद्ध आवाज उठाउनेहरूको सुरक्षामाथि प्रश्न खडा भइरहेको बताएका छन्। शाहले मुख्यमन्त्री भगवन्त मानलाई पञ्जाबका जनतालाई प्रचार होइन, जवाफ चाहिएको र घोषणा होइन, परिणाम चाहिएको बताएका छन्। उनले लागुऔषधको सञ्जालविरुद्ध निर्णायक कारबाही गर्न र अपराधीहरूले प्राप्त गरिरहेको कुनै पनि राजनीतिक संरक्षणबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
गृहमन्त्रीले पञ्जाबमा भाजपाको सरकार बने राज्यलाई लागुऔषधमुक्त, गुण्डागर्दीमुक्त र सुरक्षित बनाउने सङ्कल्प दोहोर्याएका छन्। उनले आफ्नो पार्टीको लक्ष्य लागुऔषधको कारोबारमाथि प्रहार गर्नु, युवाहरूको भविष्यको रक्षा गर्नु, अपराधीविरुद्ध कडा कारबाही गर्नु र यस्तो कानूनको शासन स्थापित गर्नु रहेको बताए, जहाँ कुनै पनि नागरिकलाई डरको छायामा बाँच्न बाध्य हुन नपरोस्।
हिन्दुस्थान समाचार / भवानी थामी