
मैसुरु, १६ अक्टोबर (हि.स.)। कर्नाटकको मैसुरु जिल्लाको पिरियापट्टण तालुक स्थित कीरनहल्ली गेटनजिकै शुक्रवार बिहान सबेरै निजी बस र मालवाहक ट्रकबीच आमनेसामने ठोक्किँदा ४ जनाको मृत्यु भएको छ भने २० भन्दा बढ़ी यात्रु घाइते भएका छन्।
पुलिस अनुसार, दुर्घटना शुक्रवार बिहान लगभग ३:३० बजी भएको हो। मैसुरुबाट मडिकेरी जाँदै गरेको निजी बस र मडिकेरीतर्फबाट मैसुरु आउँदै गरेको मालवाहक ट्रकबीच आमनेसामने ठक्कर भयो। ठक्कर यति भीषण थियो कि बस र ट्रक दुवै नराम्ररी क्षतिग्रस्त भए। दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भयो। मृतकहरूमध्ये बस चालक सुनील (२६), परिचालक सन्देश (२५) र बसयात्री अफताब (२३) को पहिचान भएको छ। चौथो मृतकको पहिचान हुन बाँकी छ। दुर्घटनामा घाइते भएका २० भन्दा बढ़ी यात्रुलाई पिरियापट्टणको सरकारी अस्पतालमा भर्ती गरिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ।
प्राप्त जानकारी अनुसार, बिहिवार राति भएको भारी वर्षाका कारण रुखको एउटा हाँगा सड़कमा खसेको थियो। उक्त हाँगाबाट बच्ने प्रयासमा ट्रक चालकले आफ्नो वाहन दायाँतर्फ मोड़ेका थिए। त्यही क्रममा अगाड़ीबाट आइरहेको निजी बससँग ट्रक ठोक्कियो।
मैसुरु जिल्ला पुलिस अधीक्षक मल्लिकार्जुन बालदण्डीले घटनास्थलको भ्रमण गरी परिस्थितिको जायजा लिएका छन्। उनले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान गरिने बताएका छन्। यस सम्बन्धमा पिरियापट्टण पुलिस थानामा मुद्दा दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी