महिला कार्यकर्तासित कुटपिट हुँदा कारबाही भएन, आवाज उठाउनेहरू हिरासतमा : युवा कांग्रेस
भारतीय युवा कांग्रेस के अध्यक्ष उदय भानु चिब गिरफ्तारी के बाद बयान देते हुए।


एनएसयूआई के राष्ट्रीय अध्यक्ष विनोद जाखड़ द्वारका पुलिस स्टेशन में हिरासत के बाद वीडियो संदेश से बयान देते हुए।


नयाँ दिल्ली, १६ अक्टोबर (हि.स.)। भारतीय युवा कांग्रेसका राष्ट्रिय अध्यक्ष उदय भानु चिब र भारतीय राष्ट्रिय छात्र सङ्गठन (एनएसयूआई) का राष्ट्रिय अध्यक्ष विनोद जाखड़ले एनएसयूआईका महिला कार्यकर्तासित कथित कुटपिट भएको घटनामा पुलिसको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। दुवै नेताले महिला कार्यकर्तासित कथित दुर्व्यवहारका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध कारबाही गर्नुको सट्टा न्यायको माग गर्नेहरूलाई हिरासतमा लिइरहेको आरोप लगाएका छन्।

युवा कांग्रेसका अध्यक्ष उदय भानु चिबले भीडियो जारी गर्दै एनएसयूआईका महिला कार्यकर्तामाथि निर्ममतापूर्वक कुटपिट गरिएको र त्यसका भीडियो देशभरिका मानिसले देखिसकेको बताएका छन्। यसका बाबजुद सम्बन्धित पुलिसकर्मीहरू विरुद्ध अहिलेसम्म प्रथम सूचना प्रतिवेदन (एफआईआर) दर्ता नगरिएको उनले बताए। उनले दोषीहरू विरुद्ध कारबाहीको माग गर्दै आफूहरू संसद मार्ग पुलिस थानामा पुग्दा पुलिसले उनीहरूलाई नै पक्राउ गरेको बताए। जिम्मेवार व्यक्तिहरू विरुद्ध एफआईआर दर्ता गरी घटनाको निष्पक्ष अनुसन्धान नभएसम्म विरोध जारी रहने उनले बताएका छन्।

उल्लेखनीय छ, कांग्रेसले निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै मङ्गलवार आयोजित एनएसयूआईको प्रदर्शनका क्रममा महिला कार्यकर्ता रितु बराला र अथिरा विजयनमाथि कुटपिट गरिएको आरोप लगाएको थियो। पार्टी अनुसार, घटनाका भीडियो सार्वजनिक भएको र दुई दिन बितिसकेको भए पनि सम्बन्धित पुलिसकर्मीहरू विरुद्ध कुनै एफआईआर दर्ता गरिएको छैन। यसै घटनामा कारबाहीको माग गर्दै बिहिवार अबेर राति संसद मार्ग पुलिस थानाबाहिर प्रदर्शन गरिरहेका युवा कांग्रेस अध्यक्ष उदय भानु चिबलाई शुक्रवार बिहान सबेरै पक्राउ गरियो भने एनएसयूआई अध्यक्ष विनोद जाखड़लाई द्वारका सेक्टर–२३ पुलिस थानामा हिरासतमा राखियो।

एनएसयूआईका राष्ट्रिय अध्यक्ष विनोद जाखड़ले शुक्रवार सामाजिक सञ्जाल ‘एक्स’ मा भीडियो जारी गर्दै पुलिसको कारबाहीमाथि प्रश्न उठाएका छन्। हिरासतमा राख्दैमा आफ्नो आवाज दबाउन नसकिने उनले बताएका छन्। महिला कार्यकर्तामाथि कुटपिट भएको घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र दोषी ठहरिने व्यक्तिहरू विरुद्ध कड़ा कारबाही गरिनुपर्ने उनको माग छ। आफूले प्रश्न उठाइरहने र न्याय प्राप्त नभएसम्म सङ्घर्ष जारी राख्ने उनले बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande