
नयाँ दिल्ली, १६ अक्टोबर (हि.स.)। विदेश मन्त्रालयकी सचिव (वाणिज्य, दूतावास, पासपोर्ट एवं भिसा र प्रवासी भारतीय मामिला) श्रीप्रिया रङ्गनाथन र अन्तरराष्ट्रिय प्रवासन सङ्गठन (आईओएम) की महानिदेशक एमी पोपबीच विश्वव्यापी प्रवासन र मानिसहरूको आवागमनसँग सम्बन्धित वर्तमान प्रवृत्तिबारे छलफल भएको छ। दुवै पक्षले बदलिँदो विश्वव्यापी परिस्थितिमा भारतका लागि उपलब्ध अवसरहरू बढ़ाउने उपायहरूबारे पनि विचारविमर्श गरेका छन्।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधवार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यसबारे जानकारी दिएका हुन्। उनले बैठकमा विश्वव्यापी स्तरमा प्रवासन र आवागमनका उदीयमान प्रवृत्ति तथा तीसँग सम्बन्धित अवसरहरूबारे विस्तृत छलफल भएको बताए। बदलिँदो विश्वव्यापी परिस्थितिमा भारतका नागरिक र पेशाकर्मीहरूका लागि थप अवसर सुनिश्चित गर्ने तथा प्रवासन सम्बन्धी सहकार्यलाई अझ् सुदृढ़ बनाउने विषयमा पनि बैठकमा कुराकानी भएको उनले जानकारी दिए।
उल्लेखनीय छ, अन्तरराष्ट्रिय प्रवासन सङ्गठन संयुक्त राष्ट्रसङ्घसँग सम्बद्ध संस्था हो, जसले प्रवासन सम्बन्धी विषयमा सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्छ। भारतले पनि यस सङ्गठनसँग प्रवासन तथा मानव आवागमनसँग सम्बन्धित विभिन्न विषयमा सहकार्य गर्दै आएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी