(अपडेट) कांग्रेस देशलाई हिंसा र अराजकताको आगोमा झोस्न चाहन्छ: राजनाथ सिंह
प्रेसवार्ता को संबोधित करते राजनाथ सिंह


लखनउ, 16 अक्टोबर (हि.स.)। रक्षामन्त्री राजनाथ सिंहले बिहिबार लखनउमा विपक्षीमाथि प्रहार गर्दै कांग्रेसले देशलाई हिंसा र अराजकताको आगोमा झोस्न चाहेको बताएका छन्। आफूलाई महात्मा गान्धीको राजनीतिक उत्तराधिकारी दाबी गर्ने कांग्रेसले हिंसा र अराजकताको सहारामा ‘सत्ता परिवर्तन’ जस्ता कुरा गरेर आफ्नो राजनीतिक पराजयको बदला देशसँग लिन चाहेको उनले बताए। रक्षामन्त्री आफ्नो संसदीय क्षेत्र लखनउ भ्रमणको दोस्रो दिन प्रदेश भाजपा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै थिए।

राजनाथ सिंहले कांग्रेसले भारतमा बङ्गलादेशजस्तो परिस्थिति सिर्जना गर्ने सपना देखिरहेको बताए। उनले यसलाई ध्यानमा राख्दै कांग्रेसले ‘गान्धी’ नाम प्रयोग गर्ने नैतिक आधार गुमाएको आफूले भन्न सक्ने बताए। उनले भने, उत्तर प्रदेशमा कांग्रेस ३७ वर्षदेखि सत्ताबाहिर रहेको छ। यो जनताको मत कथित रूपमा चोरी भएका कारण हो वा कांग्रेसको कामचोरी र कार्यसम्पादनको असफलताका कारण हो भन्ने कुरा प्रदेश र देशका जनताले राम्ररी बुझेका छन्।

राजनाथ सिंहले उत्तर प्रदेशको चौरीचौरामा ब्रिटिस शासनकालमा हिंसाको घटना भएपछि महात्मा गान्धीले सम्पूर्ण असहयोग आन्दोलन फिर्ता लिएको बताए। उनले ‘सत्ता परिवर्तन’, ‘प्रतिरोध’ र ‘संसद होइन, सडकबाटै समाधान खोज्नुपर्छ’ जस्ता नारा र अभिव्यक्तिले दिल्लीमा भइरहेको गतिविधि राजनीतिक समाधान खोज्नुको सट्टा अराजकताको माध्यमबाट भारतको प्रगतिलाई सही मार्गबाट विचलित गराउने निन्दनीय प्रयास भएको स्पष्ट हुने बताए।

रक्षामन्त्रीले भारतको प्रगति र विश्वव्यापी उदयबाट धेरै शक्तिहरू असहज महसुस गरिरहेका हुन सक्ने बताए। देशले यो बुझ्न आवश्यक रहेको उल्लेख गर्दै उनले निर्वाचनमा लगातार पराजयको सामना गरिरहेका केही राजनीतिक दल आज जानेर वा नजानेर त्यस्ता शक्तिहरूको हातमा खेलिरहेको देखिएको बताए।

उनले रक्षा उत्पादनको क्षेत्रमा भारतले उत्कृष्ट सफलता हासिल गरेको बताए। उनले आत्मनिर्भरताको दिशामा अगाडि बढ्नुका साथै आज भारतले पहिलोपटक रक्षा सामग्री निर्यात गर्ने देशका रूपमा पनि आफ्नो पहिचान स्थापित गरिरहेको बताए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अन्तरराष्ट्रिय जगतमा देशको प्रतिष्ठा बढेको, भारतको साख बढेको र विश्वसनीयतासमेत वृद्धि भएको बताए।

राजनाथ सिंहले आफूहरूले कहिल्यै देशको निर्वाचन व्यवस्थामाथि शङ्का नगरेको बताए। आफूहरूले कहिल्यै संवैधानिक संस्थाहरूलाई बदनाम गर्ने प्रयास नगरेको र जनतालाई भ्रमित पार्न नखोजेको उनले बताए। आफूहरूले सधैँ देशका जनता, देशको संविधान र संवैधानिक संस्थाहरूको सम्मान गरेको उनले उल्लेख गरे। भारतको भविष्य हामी सबैको साझा जिम्मेवारी भएको बताउँदै उनले टकराव होइन, संवाद र राष्ट्र निर्माणको मार्ग रोज्नुपर्ने बताए।

रक्षामन्त्रीले राहुल गान्धीलाई लोकतन्त्रको रक्षाको नाममा ‘अवरोधको राजनीति’ गर्नुको सट्टा जनमतको सम्मान गर्दै आफ्नो राजनीतिक भूमिकाबारे आत्ममन्थन गर्नुपर्ने बताए। उनले भारतका लोकतान्त्रिक संस्थाहरूलाई राजनीतिक स्वार्थको बलि चढाउन नसकिने बताए। उनले झुटो आक्रोश, संस्थाहरूलाई बदनाम गर्ने प्रयास र राजनीतिक अवसरवादको सहारामा भारतको विकास यात्रामा बाधा पुर्याउन नसकिने बताए।

उनले राहुल गान्धी र उनका सहयोगीहरूले लोकतन्त्र भनेको अराजकता फैलाउने, संवैधानिक संस्थाहरूको विश्वसनीयतामाथि प्रहार गर्ने वा भारतको विकास यात्रामा बाधा पुर्याउने अनुमति होइन भन्ने कुरा बुझ्नुपर्ने बताए। उनले जब राजनीतिक स्वार्थलाई सत्य र राष्ट्रिय हितभन्दा माथि राखिन्छ, तब लोकतान्त्रिक बहस तथ्य र तर्कको सट्टा पूर्वाग्रह तथा दुष्प्रचारको सिकार हुने बताए।

‘सत्ता परिवर्तन’ जस्ता शब्द प्रयोग गरिनुले उनीहरूको लडाइँ सुधारका लागि नभएको स्पष्ट हुने राजनाथ सिंहले बताए। उनले भने, उनीहरूको लडाइँ विशेष गहन पुनरीक्षण (एसआईआर) का लागि होइन, ज्ञानेश कुमारका लागि पनि होइन र देशका युवाहरूको उज्ज्वल भविष्यका लागि पनि होइन। बरु यो देशमा अराजकता सिर्जना गर्ने र जुनसुकै तरिकाले सत्ता हासिल गर्ने उनीहरूको षड्यन्त्रको हिस्सा हो। रक्षामन्त्रीले उनीहरू सरकारलाई खुलेआम ढाल्ने कुरा गरिरहेको बताए। यसबाट उनीहरूको एकमात्र उद्देश्य लोकतान्त्रिक संस्थाहरूलाई ध्वस्त पार्नु र देशमा आगो लगाउनु रहेको स्पष्ट हुने उनले बताए।

रक्षामन्त्रीले देशका युवाहरूलाई अराजकताको राजनीतिमा मोहराका रूपमा प्रयोग गर्ने प्रयास भइरहेको बताए। कांग्रेस र उसका राजनीतिक सहयोगीहरूले प्रत्यक्ष रूपमा तथा आफ्ना समर्थक सङ्गठनहरूमार्फत युवाहरूको ऊर्जा रचनात्मक कार्य तथा राष्ट्र निर्माणमा लगाउनुको सट्टा राजनीतिक टकराव र अराजकता फैलाउने माध्यम बनाइरहेको जस्तो देखिएको उनले बताए।

पत्रकार सम्मेलनमा उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठक, भाजपा प्रदेश अध्यक्ष पङ्कज चौधरीलगायत पार्टीका अन्य नेताहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande