

भोपाल, १७ अक्टोबर (हि.स.)। मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले शनिबार आन्ध्र प्रदेशको अमरावतीमा आन्ध्र प्रदेश राजधानी क्षेत्र विकास प्राधिकरणका अधिकारीहरूसँग बैठक गरी योजनाबद्ध सहरीकरण, आधुनिक पूर्वाधार विस्तार तथा विकास परियोजनाहरूको कार्यान्वयनबारे छलफल गरे।
मुख्यमन्त्री यादवले पूर्णतः डिजिटल, स्मार्ट तथा पर्यावरणमैत्री एकीकृत बस्ती परियोजनाको अवलोकन गर्दै यसको प्रमुख विशेषता र विकास योजनाबारे जानकारी लिए। उनले मध्य प्रदेशमा इन्दौर-उज्जैन तथा भोपाल महानगरीय परियोजनाका लागि भइरहेका पहल र भविष्यमा जबलपुर तथा ग्वालियरका लागि तयार पारिँदै गरेका योजनाबारे पनि जानकारी गराए।
विजयवाडामा उद्योगपति तथा लगानीकर्तासँग छलफल
आन्ध्र प्रदेश भ्रमणका क्रममा मुख्यमन्त्री यादवले शनिबार विजयवाडामा मध्य प्रदेशमा लगानीका नयाँ अवसर तथा औद्योगिक साझेदारी प्रवर्द्धन गर्ने उद्देश्यले प्रमुख उद्योगपति र लगानीकर्ताहरूसँग छुट्टाछुट्टै छलफल गरे।
उनले मध्य प्रदेशमा उपलब्ध लगानीका सम्भावना, अनुकूल औद्योगिक वातावरण तथा उद्योग प्रवर्द्धनका लागि राज्य सरकारले लागू गरेका विभिन्न उद्योगमैत्री नीतिबारे जानकारी गराए।
हिन्दुस्थान समाचार / बिशाल