
नयाँ दिल्ली, १७ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको ग्रेटर नोएडामा लागुऔषधको अवैध उत्पादनमा संलग्न दुई प्रयोगशालाको भण्डाफोर गरिएको छ। यस कारबाहीमा ठूलो परिमाणमा कृत्रिम लागुऔषध, तिनको उत्पादनमा प्रयोग हुने रसायन तथा उपकरणहरू जफत गरिएको छ। घटनामा एक विदेशी नागरिकसहित दुई जनालाई पक्राउ गरिएको छ।
गृहमन्त्रीको कार्यालयले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यसबारे जानकारी दिँदै यसलाई लागुऔषधविरुद्धको अभियानमा ठूलो सफलता बताएको छ। कार्यालयका अनुसार, गुप्त सूचनाका आधारमा उक्त कारबाही गरिएको हो।
यस कारबाहीका लागि कार्यालयले लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) लाई बधाई दिँदै यसले लागुऔषध तस्करीमा संलग्न गिरोहहरूलाई ध्वस्त पार्ने सरकारको प्रतिबद्धता दर्शाएको जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नशामुक्त भारत’ अभियानअन्तर्गत लागू गरिएको लागुऔषध नियन्त्रण दृष्टिपत्र २०२६-२९ अनुरूप दिसम्बर २०२९ सम्म लागुऔषध तस्करीमा संलग्न गिरोहहरूलाई ध्वस्त पार्ने लक्ष्य राखिएको छ। ग्रेटर नोएडामा गरिएको कारबाहीलाई यस दिशामा महत्त्वपूर्ण उपलब्धि बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल