

गान्तोक, 02 अक्टूबर (हि.स.)। सिक्किमको खेलकुद क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा आगामी १४ देखि २१ नोभेम्बर, २०२६ सम्म सिक्किममा आयोजना हुने ४९औँ योनेक्स सनराइज अन्तरराज्य, अन्तरक्षेत्रीय तथा जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२६ लाई सिक्किम सरकारले राज्यस्तरीय कार्यक्रमका रूपमा घोषणा गरेको छ।
यससम्बन्धी आधिकारिक सरकारी अधिसूचना आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा जारी गरिएको ब्याडमिन्टन एसोसिएसन अफ सिक्किम (बीएएस) ले प्रेस विज्ञप्तिमा जनाएको छ।
बीएएसको आयोजनामा हुने उक्त राष्ट्रियस्तरीय प्रतियोगिता अब सिक्किम सरकारको सहयोग र सहभागितामा राज्यस्तरीय कार्यक्रमका रूपमा सञ्चालन हुनेछ। प्रतियोगितालाई राज्यस्तरीय कार्यक्रमको मान्यता दिइनुले सिक्किम सरकारले खेलकुद, विशेषगरी ब्याडमिन्टनको प्रवर्द्धन तथा विकासलाई दिँदै आएको प्राथमिकतालाई प्रतिबिम्बित गरेको बीएएसले जनाएको छ।
कार्यक्रमका क्रममा राज्यपाल माथुर र मुख्यमन्त्री तामाङले प्रतियोगिताको आधिकारिक लोगो तथा म्यास्कट पनि सार्वजनिक गरे। यससँगै प्रतिष्ठित राष्ट्रियस्तरीय प्रतियोगिताको तयारीले महत्वपूर्ण चरण पार गरेको बताइएको छ।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा ब्याडमिन्टन एसोसिएसन अफ सिक्किम र योनेक्स सनराइज इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान गरियो। योनेक्स सनराइज इन्डियाको तर्फबाट प्रमोशन हेड नेहा महलवाल सहभागी थिइन्।
कार्यक्रममा राज्य सरकारका मन्त्रीहरू, विधायकहरू, सल्लाहकारहरू, अध्यक्षहरू, बीएएस कार्यकारिणी समितिका सदस्यहरूका उपस्थित थिए।
ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमले राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङलाई कार्यक्रममा उपस्थित भई ब्याडमिन्टनको प्रवर्द्धन तथा राज्यमा खेलकुद पूर्वाधारको विकासका लागि निरन्तर प्रोत्साहन र सहयोग प्रदान गरेकोमा आभार व्यक्त गरेको छ। बीएएसले सिक्किम सरकार, ब्याडमिन्टन एसोसिएसन अफ इन्डिया, योनेक्स सनराइज इन्डिया, अधिकारीहरू, आबद्ध संघसंस्थाहरू, स्वयंसेवकहरू तथा सबै सरोकारवालाहरूप्रति पनि प्रतियोगिता सफल बनाउन प्रदान गरिरहेको सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गरेको छ।
प्रतियोगितालाई राज्यस्तरीय कार्यक्रम घोषणा गरिनु ब्याडमिन्टन एसोसिएसन अफ सिक्किम तथा सम्पूर्ण खेलकुद समुदायका लागि महत्वपूर्ण उपलब्धि रहेको बीएएसले जनाएको छ। प्रतियोगिता सहभागी खेलाडी, अधिकारी तथा ब्याडमिन्टनप्रेमीका लागि स्मरणीय बनाउँदै उच्चस्तरमा सफलतापूर्वक सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको पनि एसोसिएसनले जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल