
खरसाङ, 02 अक्टोबर (हि.स.)। हिल तराई प्राथमिक शिक्षक एसोसिएसन केन्द्रिय समितिको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय अध्यक्ष अनित थापाले शिक्षक संगठनहरूलाई आफ्नो अधिकारको निम्ति लड्न सक्षम हुन आह्वान गरेका छन्। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा आज आयोजित कार्यक्रममा अवकाश प्राप्त प्राथमिक शिक्षकहरूलाई सम्मान जनाइयो।
सम्मान कार्यक्रममा उपस्थित शिक्षकहरूलाई सम्बोधन गर्दै थापाले पहाडको वर्तमान राजनीतिक अवस्था, संगठनको भूमिका र भावी दिशाबारे विचार राखे। थापाले भने, हाम्रो पहाडमा सत्ता थियो अहिले पनि छ। तर अहिले सत्तामा निर्वाचित नभएर एक नौकर शाहले सत्ता चलाइरहेको छ।
उनले पहाडमा क्षेत्रीय सरकार नहुनुको असर उल्लेख गर्दै भने, पहाडलाई जहिले पनि क्षेत्रीय सरकारले चलाउने गर्थ्यो, तर अहिले पहाडमा क्षेत्रीय सरकार छैन। क्षेत्रीय सरकार नहुँदा सबैले कष्ट भोग्नुपर्दैछ। म आफै पनि अनुभव गर्दछु। हाम्रो आवाज पनि खोसिएको छ। बोल्नु चाहेर पनि बोल्न सकिएको छैन।
सरकारी कर्मचारी र सरकारबीचको सम्बन्धबारे बोल्दै थापाले भने, सरकारी कर्मचारीले सरकारसँग मिलेर नै काम गर्नुपर्छ। सरकारले भनेको कुरा मान्नु नै पर्छ। तर संगठनलाई दुखेको कुरामा संगठनले लड्न सक्नुपर्छ। वर्तमान स्थिति सधैं रहने छैन भन्दै थापाले आशावाद व्यक्त गरे।
उनले भने, सदैव स्थिति यो रहने छैन। समयअनुसार परिवर्तन आउँछ नै आउँछ। पहाडले आज जे देख्दैछ त्यो देख्नुपर्ने नै थियो, आफ्नो घरको मूल्य अहिले साधारण जनताले पनि महसुस गर्दैछन्। जुन दिन आफ्नो घरको मूल्य बुझ्छ त्यो दिनदेखि पहाडमा राम्रो कुरा मात्र हुनेछ। अनि त्यो दिन चाँडै आउनेछ।'
जीटीएको कुर्सी छोड्नुबारे स्पष्टीकरण दिँदै उनले भने, जब मानिसले नै जीटीए चाहेको छैन भने मैले कुर्सीमा बसिरहनु हुँदैन थियो अनि मैले जिम्मेवारी लिँदै जीटीएको कुर्सी छोडिदिए। शिक्षक संगठनका नेतृत्वलाई सम्बोधन गर्दै थापाले भने, संगठनले काम गर्ने दिन आएको छ। शिक्षकहरूको हक अनि अधिकारको निम्ति लड्ने समय आएको छ। यदि आजको दिन संगठनका नेतृत्वहरू असफल रहे तपाईहरुले आफ्नो नेतृत्व गुमाउनुहुनेछ।
थापाले शिक्षक संगठनको भूमिकाबारे स्पष्ट धारणा राखे। उनले भने, नेतृत्वहरू रचनात्मक अनि सकारात्मक हुनुपर्छ। राजनीतिक पार्टी केही भएपनि शिक्षक संगठन बाँचिरहनुपर्छ। संगठनले राजनीतिभन्दा पनि माथि शिक्षकहरूको हक अनि अधिकारको निम्ति काम गर्नुपर्छ। सरकारलाई आफ्नो संगठनको अनि शिक्षकको समस्या बुझाउनु पर्छ। शिक्षक संगठनलाई बचाउनु नै संगठनको मूल उद्देश्य हुनुपर्छ।
---------------
हिन्दुस्थान समाचार / हनोक