
गान्तोक, 02 अक्टोबर (हि.स.)। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), सिक्किम च्याप्टरको च्याप्टर अधिवेशन आज गान्तोकस्थित नेपाली साहित्य परिषद् भवनमा निवर्तमान अध्यक्ष रुद्र पौड्यालको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा कोषाध्यक्ष वीणा राईले कोषाध्यक्षको प्रतिवेदन तथा कार्यवाहक महासचिव डा. कविता सुब्बाले महासचिवको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरे। सोही अवसरमा अनेसास सिक्किम च्याप्टरको आधिकारिक फेसबुक पेजको पनि औपचारिक सार्वजनिक घोषणा गरियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नवनिर्वाचित चौथो कार्यकारिणी समिति (२०२६-२८) को शपथ ग्रहण तथा सम्मान समारोह रहेको थियो। निर्वाचन समितिका संयोजक डा. पारसमणि दंगाल र सह-संयोजक चन्द्र दुलालको उपस्थितिमा नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
नवनिर्वाचित चौथो कार्यकारिणी समितिमा निम्न पदाधिकारीहरू निर्वाचित भएका छन्:
अध्यक्ष: रत्न लक्सम सुब्बा
वरिष्ठ उपाध्यक्ष: मीना सुब्बा
उपाध्यक्ष: गोपाल के छेत्री र मणिका शर्मा
महासचिव: डा. कविता सुब्बा
सचिव: विष्णुमाया कट्टेल
सचिव साहित्य: मुङ्गा राई
कोषाध्यक्ष: वीणा राई
सह-कोषाध्यक्ष: चन्द्र राई सहारा
कार्याकारिणी सदस्य: फूर्वा खाण्डु गुरुङ
शपथ ग्रहणपश्चात् नवनिर्वाचित कार्यसमितिका पदाधिकारीगणहरूलाई बधाई अर्पण गर्दै प्रमाणपत्र तथा सम्मान प्रदान गरियो। कार्यक्रममा अनेसास केन्द्रिय सल्लाहकार डा. पुष्प शर्मा र नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हरि ढुङ्गेलले शुभकामना सन्देश व्यक्त गरेको थियो। साथै, अनेसास केन्द्रिय कार्यसमिति सदस्य एवम् निर्वाचन समिति संयोजक डा. पारसमणि दंगालले पनि सभालाई सम्बोधन गरे।
समारोहमा नवनिर्वाचित अध्यक्ष रत्न लक्सम सुब्बाले आफ्नो धारणा राख्दै आगामी कार्यकालमा नेपाली साहित्यको प्रवर्द्धन र संस्थाको श्रीवृद्धिका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रमको समापन गर्दै सभापति रुद्र पौड्यालले आफ्नो मन्तव्य राखेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल