


कोकराझार (असम), 02 अक्टोबर (हि.स.)। कोकराझार जिल्लाको फकिराग्राम नगरपालिकाको तत्वावधानमा शुक्रवार महात्मा गान्धीको 157 औँ जयन्ती श्रद्धा एवं उल्लासको साथमा मनाइयो। गान्धी जयन्तीको अवसरमा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा विशेष वृक्षारोपण अभियान पनि सञ्चालन गरिएको थियो।
दिनभरि नै आयोजना भइरहेको यस कार्यक्रमको शुभारम्भ फकिराग्राम नगरपालिका कार्यालय परिसरमा महात्मा गान्धीको चित्रमा दीप प्रज्वलन एवं पुष्पाञ्जली अर्पण गरी गरियो। नगरपालिकाका अध्यक्ष सुल्तान आलमले महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा उनले गान्धीजीको सत्य, अहिंसा र स्वच्छताको आदर्शलाई आत्मसात गरेर स्वस्थ एवं स्वच्छ समाज निर्माणका लागि योगदान दिने आह्वान मानिसहरूसित गरे।
त्यसपछि नगरपालिकाका उपाध्यक्ष प्रणव शर्मा, सबै वार्ड पार्षदगण तथा नगरपालिकाका अधिकारी एवं कर्मचारीहरूले राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरे।
गान्धी जयन्तीको अवसरमा वातावरण संरक्षण र हरित वातावरण सृर्जना गर्ने उद्देश्यले नगरपालिका क्षेत्रका विभिन्न स्थानमा बोट-बिरुवा रोपियो। वृक्षारोपण अभियानमा नगरपालिका अध्यक्ष, उपाध्यक्ष एवं वार्ड काउन्सिलर सहित स्थानीय जनताले उत्साहपूर्वक भाग लिएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा