

बोङ्गाई गाउँ (असम), 02 अक्टोबर (हि.स.)। महात्मा गान्धी एवं भारतका पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीको जन्मजयन्तीको अवसरमा एनटीपीसी बोङ्गाई गाउँमा यी दुई महान नेताहरूलाई श्रद्धापूर्वक स्मरण गरियो। यस अवसरमा एनटीपीसी बोङ्गाई गाउँका परियोजना प्रमुख अर्णब मैत्रा सहित अन्य अधिकारीगण एवं कर्मचारीहरूले दुई नेताहरूको चित्रमा श्रद्धासुमन अर्पण गरे।
कार्यक्रममा महात्मा गान्धीको सत्य, अहिंसा, शान्ति र सद्भावको सन्देश तथा लालबहादुर शास्त्रीको सरलता, आत्मनिर्भरता एवं राष्ट्रसेवाको आदर्शलाई स्मरण गरियो। शास्त्रीजीको प्रसिद्ध आह्वान जय जवान, जय किसान- ले आज पनि राष्ट्रप्रतिको समर्पण अनि जिम्मेवारीको भावनालाई प्रेरित गर्दछ।
यस अवसरमा बोल्दै वक्ताहरूले भने, महात्मा गान्धी अनि लालबहादुर शास्त्रीको जीवन-मूल्यले आज पनि समाज एवं देशको लागि प्रेरणाको श्रोत भइरहेको छ। उनीहरूको आदर्शबाट प्रेरणा लिएर इमानदारी, सामूहिक जिम्मेवारी, सेवा भावना र आत्मनिर्भरताको साथमा राष्ट्र निर्माणमा योगदान गर्ने संकल्प पनि यस अवसरमा लिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा