
गान्तोक, ०२ अक्टोबर (हि.स.)। गॉंधी जयन्ती तथा भारतका दोस्रो प्रधानमन्त्री लालबहादुर शास्त्रीको जयन्तीका अवसरमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज लोकभवन परिसरमा राष्ट्रपिता महात्मा गॉंधीको प्रतिमामा माल्यार्पण गर्दै परम्परागत खादा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरे।
यसै क्रममा राज्यपालले देशका पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीको तस्बिरमा पनि पुष्प अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरे। कार्यक्रममा लोकभवनका वरिष्ठ अधिकारी, कर्मचारी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा राज्यपाल माथुरले भने, “महात्मा गॉंधीका सत्य, अहिंसा र स्वच्छताका विचारले आज पनि सम्पूर्ण विश्वलाई मार्गदर्शन गरिरहेका छन्। अर्कोतर्फ, लालबहादुर शास्त्रीको सरलता र देशभक्तिले राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गर्छ।”
राज्यपालले उपस्थित सबैलाई अझ बलियो, आत्मनिर्भर र स्वच्छ भारत निर्माणका लागि दुवै महान् व्यक्तित्वका आदर्श, मूल्य र देखाएको मार्गमा हिँड्न आह्वान गरे।
हिन्दुस्थान समाचार / बिशाल