
धर्मशाला, 0२ अक्टोबर (हि.स.)। काङ्गडा जिल्लाको भवार्ना थाना क्षेत्र अन्तर्गत परौरमा गत २८ सेप्टेम्बरमा एक वृद्ध महिलाको घरमा प्रवेश गरी सुनको सिक्री लुटेको घटनामा पुलिसले मुख्य आरोपीलाई पक्राउ गरेको छ। पुलिसले घटनामा संलग्न राहुल स्यामुएल (३२) लाई पक्राउ गरेको छ। उ काङ्गडा जिल्लाको पालमपुर तहसील अन्तर्गत मोल खड्ड, वडा नम्बर ३ को बासिन्दा हो।
गहन सोधपुछका क्रममा आरोपीले आफ्ना साथी परौर निवासी अरुणवीर सिंह उर्फ मोंगलीसँग मिलेर २८ सेप्टेम्बर २०२६ को मध्यरातमा परौरमा घरमा सुतिरहेकी वृद्ध महिलाको कोठामा प्रवेश गरी उनको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएको स्वीकार गरेको पुलिसले जनाएको छ।
पुलिसले राहुललाई पक्राउ गरी अदालतमा पेश गऱ्यो। अदालतले उसलाई तीन दिनको पुलिस हिरासतमा पठाएको छ। घटनाको अर्का आरोपी अरुणवीर सिंह उर्फ मोंगलीलाई भने भवार्ना थानामा एनडीपीएस एक्ट अन्तर्गत दर्ता भएको अर्को मुद्दामा यसअघि नै पक्राउ गरिएको थियो। अदालतमा पेश गरिएपछि उसलाई पाँच दिनको न्यायिक हिरासतमा पठाइएको छ।
काङ्गडा पुलिस उपरीक्षक अनुसार, लुटिएको सुनको सिक्री जफत गर्नुका साथै घटनाको गहन अनुसन्धान भइरहेको छ। घटनामा अन्य व्यक्ति पनि संलग्न थिए कि थिएनन् तथा आरोपीहरू क्षेत्रमा भएका अन्य चोरी वा लुटपाटका घटनामा समेत संलग्न थिए कि थिएनन् भन्नेबारे पनि अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी