
खरसाङ, 02 अक्टोबर (हि.स.)। देशभरि चलिरहेको सेवा संकल्प अभियान अन्तर्गत खरसाङमा शुक्रबार खरसाङ नगरपालिका र दार्जिलिङ हिमालयन रेलवेको संयुक्त आयोजनामा वाकाथन आयोजना गरियो।
प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा 20 सेप्टेम्बरदेखि 6 अक्टोबरसम्म जारी सेवा संकल्प अभियान अन्तर्गत खरसाङमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको छ। यसै अन्तर्गत शुक्रबार खरसाङको रोहिणी जिरोदेखि रेलवे स्टेशन परिसरसम्म वाकाथनको आयोजना गरिएको हो।
वाकाथनलाई रोहिणी जिरो पोइन्टबाट खरसाङका विधायक सोनाम लामा, महकुमा शासक पेमा शेर्पा, खरसाङ नगरपालिकाका कार्यकारी अधिकारी थेन्डुप भोटिया आदिले संयुक्त रुपमा झण्डा हल्लाएर प्रस्थान गराएका थिए। यस अघि विधायक लामाले सम्बोधन गर्दै देशभरि चलिरहेको सेवा संकल्प अभियान अन्तर्गत खरसाङमा पनि विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको बताए। उनले वाकाथनको महत्व विषयमा पनि जानकारी गराएका थिए।
वाकाथन रोहिणी जिरो परिसरबाट शुरु भएर राष्ट्रिय राजमार्ग 110 हुँदै खरसाङको रेलवे स्टेशन परिसर पुगेर समापन भ यो। वाकाथनमा 14 वर्षदेखि मुनि, 14 वर्षदेखि 39 वर्ष र 40 वर्षदेखि माथि उमेर समूहका बालबालिका र महिला-पुरुष गरी लगभग 250 जनाले सहभागिता जनाएका थिए। वाकथनमा विभिन्न वर्गमा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई प्रमाण पत्रसहित ट्रफी पनि प्रदान गरियो।
पारितोषिक वितरण विधायक सोनाम लामा, महकुमा शासक पेमा शेर्पा, डीएमडीसी लाडेन लेप्चा, दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिसभ चौधरी, खरसाङ नगरपालिकाका कार्यकारी अधिकारी थेन्डुप भोटिया, फाइनेन्स अफिसर नोर्देन लामा, खरसाङ रेलवे स्टेशनका स्टेशन मास्टर संगम खाती, खरसाङ ट्राफिक पुलिस प्रभारी विकास चामलिङ, प्रेस क्लब अफ् खरसाङका सभापति वरिष्ठ पत्रकार एमएल पञ्चम आदिको बाहुलीबाट प्रदान गरियो। कार्यक्रमलाई सबिना गिरीले सञ्चालन गरेकी थिइन्।
हिन्दुस्थान समाचार / हनोक