
गान्तोक, ०२ अक्टोबर (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले बिहिवार रेल भवनस्थित कार्यालयमा केन्द्रिय रेलमन्त्री अश्विनी वैष्णवसँग भेट गरी सिक्किमसँग सम्बन्धित प्रमुख रेल परियोजनाबारे छलफल गरेका छन्।
भेटका क्रममा डा. सुब्बाले विशेष रूपमा रम्फू-रानीपुल रेलमार्गको विषय उठाउँदै सिक्किमको दीर्घकालीन विकासका लागि यसको महत्त्वलाई ध्यानमा राखेर परियोजनाको स्वीकृति र कार्यान्वयनलाई प्राथमिकता दिन रेलमन्त्रीसमक्ष आग्रह गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
उनले प्रस्तावित मल्ली-देन्ताम रेलमार्गका लागि भइरहेको सर्वेक्षणबारे पनि मन्त्रीलाई जानकारी गराउँदै सर्वेक्षण तथा त्यसपछिका प्रक्रियालाई तीव्रता दिन हस्तक्षेप गर्न आग्रह गरे। डा. सुब्बाले भारतको अन्तरराष्ट्रिय सीमासँग जोडिएको सिक्किमको भौगोलिक अवस्थिति र यस क्षेत्रमा राष्ट्रिय पूर्वाधार सुदृढीकरणका दृष्टिले रेल पूर्वाधारको रणनीतिक महत्त्व रहेको बताए।
उनले रेल पूर्वाधारले मानिस तथा सामानको आवागमन सहज बनाउने, बजारसम्म पहुँच विस्तार गर्ने तथा पर्यटन, व्यापार, उद्यमशीलता र रोजगारीका क्षेत्रमा अवसर सिर्जना गर्ने भएकाले सिक्किमको आर्थिक वृद्धिलाई गति दिने बताए।
डा. सुब्बाले भने, “आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अघि बढ्दै गर्दा रेलमार्ग सिक्किमको भावी आर्थिक वृद्धिको प्रमुख उत्प्रेरक र सहजकर्ता बन्नेछ। यसले आर्थिक गतिविधिका नयाँ अवसरहरू खोल्नुका साथै राज्यको दीर्घकालीन र समावेशी विकासमा योगदान पुर्याउनेछ।”
हिन्दुस्थान समाचार / बिशाल