
जोधपुर, २० अक्टोबर (हि.स.)। राजस्थानको जोधपुर स्थित एम्स अस्पतालको महिला स्नातकोत्तर छात्रावासमा अध्ययनरत एक महिला चिकित्सकको ब्यांक खाताबाट साइबर ठगले ३ लाख १० हजार ९७९ रुपीयाँ निकालेको छ। पीड़ित चिकित्सकले यस घटनाबारे जयपुर स्थित साइबर पोर्टलमा उजुरी दिएपछि बासनी थाना पुलिसले ठगीको मुद्दा दर्ता गरेको छ।
बासनी थानाका प्रभारी नितिन दवे अनुसार, पीड़ित चिकित्सक आशिमा मिश्राले यस सम्बन्धमा उजुरी दिएकी छन्।
उजुरी अनुसार, गत १४ अक्टोबरमा अज्ञात व्यक्तिले नक्कली कागजात तथा विद्युतीय माध्यमको प्रयोग गरी उनको ब्यांक खाताबाट उक्त रकम निकालेको थियो।
मोबाइलमा कारोबार सम्बन्धी सन्देश आएपछि मात्र आफू ठगीमा परेको थाहा भएको चिकित्सकले बताएकी छन्। उक्त रकम तीनदेखि चार पटकमा निकालिएको जनाइएको छ।
घटनाबारे जानकारी पाएलगत्तै उनले जयपुर स्थित साइबर पोर्टलमा उजुरी दर्ता गराएकी थिइन्। त्यसपछि शून्य सङ्ख्याको प्रथम सूचना प्रतिवेदन (जिरो एफआईआर) का आधारमा बासनी थानामा ठगीको मुद्दा दर्ता गरिएको पुलिस अधिकारी दवेले जानकारी दिएका छन्।
पुलिसले घटनाको थप अनुसन्धानको जिम्मेवारी उपनिरीक्षक गजेन्द्र कुमारलाई सुम्पिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी