
कटिहार, 20 अक्टोबर (हि.स.)। मनसाही थाना क्षेत्रबाट दुर्गा पूजा मेला हेर्न गएका पाँच जना नाबालिकाहरू संदिग्ध परिस्थितिमा एकसाथ बेपत्ता भएका छन्। धेरै खोजपछि पनि यी नाबालिकहरूको बारेमा कुनै सुइँको लाग्न सकेको छैन। परिवारका सदस्यहरूले केही अप्रिय घटना भएको आशङ्का व्यक्त गर्दै उनीहरूलाई सुरक्षित फिर्ता ल्याउने गुहार माग्दै मनसाही पुलिस थानामा लिखित आवेदन दिएका छन्।
पुलिस स्टेशनमा गरिएको आवेदन अनुसार मनसाही वडा नम्बर 9-की बासिन्दा मधु देवीले बताइन्, 19 अक्टोबरको साँझ करिब 6 बजे उनकी 13 वर्षीया छोरी सुप्रिया कुमारी अन्य चारजना साथीहरूसँग मनसाही र मरङ्गी दुर्गा पूजा मेला हेर्न घरबाट गएकी थिई। राती ढिलोसम्म यीमध्ये कुनै पनि बालिका फर्किएन, परिवारका सदस्यहरूले मेला परिसर एवं आफन्तहरू सहित सबै सम्भावित ठाउँहरूमा खोज्न थाले, तर कतै पनि फेला परेनन्।
बेपत्ता नाबालिकाहरूमा सुप्रिया कुमारी (13 वर्ष, पिता नीरज ठाकुर), रेश्मी कुमारी (15 वर्ष, पिता सुरेश पासवान), सोहानी कुमारी (14 वर्ष, पिता अङ्गद पासवान) र दुई जुम्ल्याहा दिदी-बहिनी शालु कुमारी (12 वर्ष) र सरगम कुमारी (12 वर्ष, दुबैका पिता जयशङ्कर ठाकुर) सामेल छन्। सबै नाबालिका मनसाही पुलिस थाना क्षेत्रको वडा नम्बर 8 र 9 का बासिन्दा हुन्।
एकसाथ पाँच जना नाबालिकाहरू बेपत्ता भएको घटनाले परिवारलाई चिन्तित र आतङ्कित पारेको छ। परिवारका सदस्यहरूले नाबालिकहरूसित कुनै अप्रिय घटना भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। याचिकाकर्ता मधु देवीले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै पुलिस प्रशासनसँग द्रुत अनुसन्धान एवं कानुनी कारबाही गर्ने माग गरेकी छन्। परिवारहरूले आम जनतालाई नाबालिकहरूको बारेमा कुनै जानकारी छ भने मोबाइल नम्बर 7004971254 वा नजिकको पुलिस स्टेशनमा सम्पर्क गरिदिने अपील समेत गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा