
रायपुर, २० अक्टोबर (हि.स.)। छत्तीसगढमा आज रेल सम्पर्क विस्तार गर्ने दिशामा महत्त्वपूर्ण कदम चालिने भएको छ। यसअन्तर्गत रायपुर-रावघाट र रायपुर-कुरुदबीच सञ्चालन हुने रेल सेवाहरूको शुभारम्भ गरिनेछ। यस ऐतिहासिक रेल सेवा उद्घाटन कार्यक्रम रायपुर रेलवे स्टसनको सातौँ प्लेटफर्ममा आयोजना भइरहेको छ।
मुख्यमन्त्री विष्णुदेव साय रायपुरमा स्वयं उपस्थित भएर यी रेल सेवाहरूलाई हरियो झण्डा देखाउनेछन्। केन्द्रिय रेलमन्त्री अश्विनी वैष्णव भने नयाँ दिल्लीबाट भिडियो कन्फ्रेन्सिंग माध्यममार्फत कार्यक्रममा सहभागी हुनेछन्। कार्यक्रम दिउँसो १ः३० बजीका लागि निर्धारित गरिएको छ।
आजदेखि रायपुर-रावघाट (बस्तर) र रायपुर-कुरुद (धमतरी) बीच नयाँ यात्रुवाहक रेल सेवाहरू नियमित रूपमा सञ्चालनमा आउनेछन्। यसका साथै नवनिर्मित ताडोकी-रावघाट रेलमार्ग र साँघुरो रेलमार्गबाट फराकिलो रेलमार्गमा रूपान्तरण गरिएको अभनपुर-कुरुद रेलमार्ग पनि जनतालाई समर्पण गरिनेछ। स्वतन्त्रतापछि पहिलोपटक बस्तर क्षेत्रको रावघाटसम्म रेल सेवा पुग्न लागेको हो।
रेल सेवाहरूको शुभारम्भसँगै आज रायपुरमा विद्युतीय रेल इन्जिन मर्मत केन्द्र (लोको शेड) को शिलान्यास पनि गरिनेछ। उक्त केन्द्रमा तीन सय उच्च अश्वशक्ति भएका विद्युतीय रेल इन्जिनको मर्मतसम्भार गर्ने क्षमता हुनेछ।
नयाँ रेल सेवाहरू सञ्चालनमा आएपछि बस्तर र मैदानी क्षेत्रबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ। यसबाट क्षेत्रीय शिक्षा, स्वास्थ्य, व्यापार तथा रोजगारीका क्षेत्रमा नयाँ अवसरहरू सिर्जना हुनेछन्।
कार्यक्रमका क्रममा ताडोकी-रावघाट र अभनपुर-कुरुद फराकिलो रेलमार्गको उद्घाटन गरिनेछ। यी रेलखण्डहरू सञ्चालनमा आएपछि क्षेत्रमा रेल यातायातको सुविधा विस्तार हुनुका साथै यात्रुहरूलाई आवागमनका लागि थप विकल्प उपलब्ध हुनेछ। यसका अतिरिक्त रायपुरमा विद्युतीय रेल इन्जिन मर्मत केन्द्रको शिलान्यास पनि गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी